रामपुर–१ मा ३ दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम सुरु

पाल्पा, रामपुर नगरपालिका वडा नं. १ पाल्पामा ३ दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम सुरु भएको छ । नेपाल मगर संघ रामपुर नगरपालिका १ नं. वडा कार्य कार्यसमितिको आयोजना र रामपुर नगरपालिका १ नं. वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।

मगर समुदायको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यका साथ सुरु भएको तालिमको बुधबार एक कार्यक्रमका विच समुद्घाटन गरिएको छ । तालिमको समुद्घाटन गर्दै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले पाल्पा मगर समुदायको बाहुल्यता रहेको जिल्ला रहेको बताउँदै समुदायको क्षमता विकासका लागि वडाले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले तालिम मार्फत सक्षम नेतृत्व विकास संगै समाजलाई मुलधारमा ल्याउनका लागि तालिमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले तालिम मार्फत नेतृत्व विकासमा थप टेवा मिल्ने बताउनुभयो ।

कार्यक्रममा गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखले समाजका लागि भावि नेतृत्व तयार गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ रामपुर नगर कार्यसमितिका अध्यक्ष राम बहादुर हिस्की थापा, एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गी र चन्द्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरराम रानाले तालिम सफलताको शुभकामना दिनुभएको थियो ।

गाँडाकोट स्वास्थ्य चौकीको सभाहलमा भएको तालिम शुभारम्भ कार्यक्रम नेपाल मगर संघ रामपुर नगरपालिका १ नं. वडा कार्य कार्यसमितिका अध्यक्ष सविता रानाको अध्यक्षतामा भएको थियो । नेपाल मगर संघ रामपुर नगर कार्यसमितिका सदस्य सुकमायाँ सिंजालीको स्वागत र नेपाल मगर संघ रामपुर नगरपालिका वडा नं. १ का सचिव मौसमी खाम्चाको सञ्चालनमा भएको हो । ३० जनाभन्दा बढी सहभागी रहेको तालिमको सहजिकरण रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार एवं रेडियो पाल्पाका कार्यक्रम प्रमुख दानु हिस्की मगर र पत्रकार इमान सिं रानाले गरिहनु भएको छ । तालिम असोज १२ गते सम्म सञ्चालन हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?