पाल्पामा मलेरियाको बिरामी फेला

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका–३,मा औलो अर्थात मलेरिया पोजिटिभ बिरामी फेला परेको छ । सरकारले सन् २०२५ भित्र मलेरिया निवारण गर्न कार्यक्रम सञ्चालन गरिहेको सन्दर्भमा मलेरियाका बिरामी भेटिएको हो ।

१५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट आएको संक्रमण नभइ गाउँमै लामखुट्टेको टोकाइबाट भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो सात वर्षयता स्थानीयस्तरमा लामखुट्टेको टोकाइबाट मलेरिया पोजिटिभ देखिएको थिएन । संक्रमित किशोरलाई ज्वरो आएको र स्थानीय स्वास्थ्य चौकीमा गत असोज ५ गते आरडीटी गर्दा पोजिटिभ देखिएको हो ।
यस अघि भारत लगायत तेस्रो मुलुकबाट आउने बिरामीमा भेटिने गरे पनि स्थानीय स्तरमा देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले बताउनुभयो । स्वास्थ्य कार्यालयमा खबर आए संगै पुनः जाँच गरिएको थियो । माइक्रोस्कोपीबाट पुनः जाँच गर्दा पनि पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले सन २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारले लक्ष्य रहेकोमा स्थानीयस्तरमा मलेरिया देखिनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले बाहिर बाट आएका व्यक्तिमा देखिएको मलेरिया भन्दा स्थानीय मै देखिएको मलेरिया तिव्रगतिमा फैलन सक्ने बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाले संक्रमण पुष्टि भएका किशोरको घर वरपरका ५० घरका ९८ जनाको स्क्रिनिङ्ग टेष्ट गरेको थियो । उनीहरु सबैमा नेगेटिभ देखिएको उहाँले जानकारी दिनुभयो ।
कुनै ट्रभल हिस्ट्री नभएको व्यक्तिमा मलेरिया संक्रमण कसरी देखियो भन्ने अनुसन्धान भैरहेको छ । संक्रमित किशोरको अवस्थामा अहिले सुधार भइरहेको पूर्वखोला स्वास्थ्य चौकीका प्रमुख श्रीराज आचार्यले जानकारी दिनुभयो । संक्रमित किशोरले १७ दिनसम्म औषधि खानुपर्ने हुन्छ । आयातित मलेरिया भने गत वर्ष ६ जना र यो वर्ष दुई जनामा देखिइसकेको छ । गत वर्ष रामपुर नगरपालिका–१० गेझाका दुई, तानसेनका दुई र माथागढीका दुई जनामा मलेरिया देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?