बेझाँड बजारमा बृहत लाखेनाच प्रदर्शनी सम्पन्न

पाल्पा, रामपुर नगरपालिका–५, बेझाँड बजारमा बृहत लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १३ औं लाखे नाच पदर्शनी भएको हो ।

विशेष गरी जात्रा, उत्सव, चाडपर्व, मेलाको अवसरमा निकालिने लाखेनाच प्रदर्शनीमा अवलोकनका लागि हजारौंको संख्यामा सहभागी भएका थिए । कार्यक्रममा पाल्पा स्याङ्जा, तनहुँ २९ समुहको लाखे नाच एउटै मञ्चमा प्रदर्शन गरिएको थियो । रामपुर नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको प्रदर्शनी कार्यक्रम लुम्बिनी प्रदेश सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले शिक्षा र प्रविधिलाई संगै जोडेर संस्कृतिलाई अघि बढाउनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नेपाल र नेपालीलाई आफ्नै मोलिक धर्म, संकार र संस्कृतिले चिनाएको बताउँदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले नेवारी संस्कृतिले पर्यटन विकासमा पनि टेवा मिलेको बताउनुभयो ।

कार्यक्रममा श्री पलि स्वाँ लाखे नाच समुह चापाकोट ९ का सचिव शान्ति श्रेष्ठ, नेयाईचा समुहका सचिव विन्दु श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो । जात्रा, उत्सव, चाडपर्व, मेलाको अवसरमा मात्र निकालिने लाखेको प्रदर्शनीमा मात्र यस वर्ष सहभागी र अवलोकल गर्न आउनेहरुको उत्साहजनक सहभागीता जनाएको रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठ बताउनुभयो । समाजले नयाँ पुस्तालाई संस्कृतिका बारेमा जानकारी दिन तथा संस्कृतिको संरक्षणको लागि विगत १५ वर्ष अघि देखि कार्यक्रमलाई निरन्तरता दिदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्थान विशेष फरक फरक ताल र शैलीमा देखाउने अवसर समेत जुराएको थियो । रामपुर नेवाः समाजका सचिव विमल श्रेष्ठले यस वर्ष तीन जिल्लाका २९ समुहले प्रदर्शनीमा सहभागीता जनाएको जानकारी दिनुभयो । प्रदर्शनीले एक नेवार समुदायमा स्थान विशेष रहेका फरक फरक लाखेनाचको बारेमा जान्न र बुझ्न अवसर प्रदान गरेको बताउनुभयो । लाखे नाच पछिल्लो समय नेवार समुदाय संगै अन्य जाति र समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । लाखेनाच सहित बेझाँड बजार परिक्रमा पश्चात रामपुर नगरपालिकाको परिसर अगाडी पालै पालो प्रदर्शन गरिएको थियो । रामपुर नेवा समाजका कोषाध्यक्ष राज कुमार श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विमल श्रेष्ठले गरिरहनु गर्नु भएको हो ।

कार्यक्रमको अवसरमा लाखेनाच समुहका विष्णु कुमार श्रेष्ठलाई मरोणेपरान्त सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी समुहलाई नगर र सम्मान पत्र प्रदान गरिएको थियो । साथै प्रदर्शनीमा सहयोग गर्ने व्यक्तित्वहरुलाई पनि प्रसंशा पत्र प्रदान गरिएको थियो । पौराणिक किंवदन्तीका अनुसार कृष्णलाई मार्नका लागि कंशले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने प्रचलन रहेको छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?