रामपुर नगरपालिकाले वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गर्ने

पाल्पा , रामपुर नगरपालिकाले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्ने भएको छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजश्व संकलन गरिरहेको वडा कार्यालयबाट अब नगरबासीले मालपोतको राजश्व तिर्ने सेवा पाउने भएका छन् ।

नगरपालिकाले आगामी मंसिर महिना देखि नगरका प्रत्येक वडा कार्यालय बाटै मालपोतको राजश्व संकलन गर्ने भएको हो । सोमबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । जनताको सेवा सहजताका लागि अब प्रत्येक वडा कार्यालयबाट मालपोतको राजश्व तिर्ने सुविधा दिईने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । थोरै राजश्व तिर्नका लागि पनि धेरै समय खर्चेर नगरपालिकाको कार्यालयमा आउन पर्दा जनतालाई सास्ती भएको भन्दै छिटो सेवाका लागि वडा कार्यालय बाटै सेवा दिने निर्णय गरेको नगर प्रमुख थापाले बताउनुभयो ।

४० /५० रुपैयाँ मालपोतको राजश्व बुझाउन पनि नगरपालिकाको कार्यालयमा आउनु पर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयहरुबाटै छिटो र सहज रुपमा सेवा प्रदान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । यस्तै रामपुर नगरपालिकामा सञ्चालन हुने नगर स्तरिय योजना मंसिर मसान्त भित्र सम्झौता गरि सक्नु पर्ने निर्णय बैठकले गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं। १ का अध्यक्ष कपिल बहादुर खाँणले जानकारी दिनुभयो । उपभोक्ताको हित र गुणस्तरिय रुपमा समयमा योजना सम्पन्न गर्नका लागि मंसिर मसान्त सम्मका लागि सम्झौताको मिति तय गरिएको प्रवक्ता खाँणले बताउनुभयो ।

साथै यही असोज मसान्त भित्र हरेक योजनाको उपभोक्ता समिति गठन गर्नु पर्ने र कात्र्तिक मसान्त भित्र स्टमेट गरिसक्नु पर्ने पनि निर्णय गरेको छ । यस्तै कार्यपालिका बैठकले चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिका भित्रका सडकहरु दशै अगाडी नै मर्मत गर्ने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?