दशैं टिकाको शुभ साईत कात्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा

काठमाडौं, यस वर्षको दशैं टीकाको साइत कात्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो वर्षको दशैंको उत्तम साइत सार्वजनिक गरेको हो ।

विज्ञप्ति मार्फत घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत सार्वजनिक गरेको छ । जसअनुसार घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने पनि उल्लेख छ ।

कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ ।

कात्तिक पहिलो साता बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?