पाल्पा, पाल्पाको रामपुरमा हुन गैरहेको ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको ट्रफी तथा टाईसेट सार्वजनिक भएको छ । आगामी असोज २२ देखि २८ रामपुर नगरपालिका–७, किसानबारी खेल मैदानमा हुन गैरहेको अन्तरक्लव स्तरीय प्रतियोगिताको ट्रफी तथा टाईसेट विहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
सम्मेलनको अवसरमा क्लवका पदाधिकारी, प्रयोजक, खेलाडी तथा सरोकारवाला निकायका प्रमुख हरुको उपस्थितिमा रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले ट्रफी सार्वजनिक गर्नु भएको थियो । रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले ज्योतिपुञ्ज कप सञ्चालन हुनु नगरको खेलखुद क्षेत्रका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले किसानबारी खेल मैदानलाई फुटबल खेलको लागि प्रशिक्षण केन्द्रको रुपमा अघि बढाउने अवधारणा नगरले अघि सारेको जानकारी समेत गराउनुभयो ।
प्रतियोगिताको बारेमा जानकारी दिदै ज्योति पुञ्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमले रामपुरलाई खेलकुदको मध्यम बाट चिनाउन तथा स्थानीय खेलाडीहरुको स्तर वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । विजयादशमी, शुभदिपावली संगै क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा हुन लागेको प्रतियोगिताको ९५ प्रतिशत तयारी सकिएको जानकारी दिनुभयो । उहाँले व्यवस्थित ढंग बाट प्रतियोगिता सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग लिएर अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,“प्रतियोगिता व्यवस्थित र पारदर्शी ढंग बाट सञ्चालन हुनेछ । हामीले प्रतियोगिता बाट फरक सन्देश प्रवाह गर्ने प्रयत्न गरेको छौं । प्रतियोगिता सम्पन्न गर्नको लागि सबैको साथ प्राप्त हुनेछ ।”
प्रतियोगिता सम्पन्न गर्नको लागि २१ लाख बढी खर्च हुने अनुमान गरिएको भन्दै उहाँले रामपुरको खेल क्षेत्रको उत्थानको लागि स्वदेश तथा विदेश बाट आवश्यक सहयोग प्राप्त भएको बताउनुभयो । “क्लव संग पर्याप्त स्रोत र साधन त छैन र पनि हामीले सबैको साथ प्राप्त हुनेछ भन्ने विश्वसका साथ प्रतियोगिता सञ्चालन गर्न लागेका हौं । सोही अनुसार स्वदेश तथा विदेश बाट हामीलाई थप हौसाला प्राप्त भएको छ ।” उहाँले भननुभयो । रामपुरको खेलकुदको विकासकोल लागि क्लवहरु विच सहकार्य गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । प्रतियोगिताको सहयोगी संस्थाहरुमा रामपुर युनाईटेड फुटबल क्लव, नगर खेलकुद विकास समिति रामपुर, जिल्ला फुटबल संघ पाल्पा , रामपुर उद्योग वाणिज्य र जिल्ला खेलकुद विकास समिति रहेकाे छ । संरक्षकमा रामपुर नगरपालिका रहेको छ । प्रतियोगिताका विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । साथै वेष्ट प्लेयर, वेष्ट किप्पर, हाई स्कोरर, वेष्ट डिफेन्डर, म्यान अफ द म्याच लगाएतका विद्यामा पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका संयोजक अनिल शाहीले प्रतियोगितालाई उपलब्धी मुलक बनाउन क्लव स्तरीय टिमलाई मात्र सहभागी गराईएको जानकारी दिनुभयो । प्रतियोगितामा रामपुर बाट दुई क्लव सहित पाल्पा, रुपन्देही, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासी गरी ६ जिल्लाका १० क्लवले सहभागीता जनाउने जानकारी दिनुभयो । क्लवले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई १ लाख रुपैयाँ बराबरको विमाको सुविधा पनि प्रदान गर्ने जनाएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित ज्योति पुञ्ज कपको अवसरमा विद्यार्थीहरुको बौद्धिक विकासको लागि माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गर्न गैरहेको हाजिरजवाफ प्रतियोगिता संयोजक रमेश पोखरेलले जानकारी दिनुभयो । उहाँले सहभागीता जनाउने विद्यालयहरु बट छनौट गरी ८ समुहलाई फाईनल प्रतियोगितामा सहभागी गराउने बताउनुभयो ।
प्रतियोगिताको अवसरमा क्लवले पाल्पाको मौलिक संस्कृति प्रदर्शनी, खानाका परिकारको स्थल तथा जिल्लाको उत्पादनहरु माटोको भाडाँ प्रदर्शनीमा राख्न लागिएको आयाेजकले जानकारी दिएकाे छ । किसानबारी खेल मैदान परिसरमा भएको पत्रकार सम्मेलन ज्योति पुञ्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सल्लाहाकार कृष्ण पौडेललेगर्नु भएको हो ।