पाल्पा, रामपुर नगरपालिका–१०, पाल्पामा सडक मर्मतको क्रममा खसेको सुख्खा पहिरोमा परी जेसिबि चालकको मृत्यु भएको छ । बर्दले बाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्ने क्रममा खसेको पहिरोमा परी शान्तिनगर गाउँपालिका १ दाङका ३० वर्षिय धनबिर खड्काको मृत्यु भएको हो ।
सडक मर्मत गरिरहेको अवस्थामा बा २ क १९५७ नम्बरको जे.सि.बि. माथि आईतबार अपरान्ह ६ः४५ बजे एक्कासी खसेको थियो । पहिरोले जेसिबि संगै चालकलाई पुरेको थियो । त्यस लगतै प्रहरी र स्थानीयले झण्डै ५ घण्टाको प्रयास पछि चालकको उद्धार गरेका थिए ।
उद्धार संगै उनलाई उपचारका लागि युनाईटेड मिसन अस्पताल तानसेन पठाईएको थियो । उपचारको क्रममा आज विहान २ः५० बजे खड्कालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्तम प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।