ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको भव्य रुपमा समुद्घाटन (तस्विरहरु सहित)

पाल्पा, रामपुर नगरपालिका–७ किसानबारीमा सुरु भएको ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको सोमबार भव्य रुपमा समुद्घाटन गरिएको छ । ज्योतिपुञ्ज युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के.) गुप्ताले समुद्घाटन गर्नु भएको हो ।

प्रतियोगिताको उट्घाटन गर्दै मन्त्री गुप्ताले संघियता कार्यान्वयन कै चरणमा रहेकाले प्रदेश संग पर्याप्त अधिकार तथा स्रोत नभए पनि खेल क्षेत्र र खेलाडीको उत्थानका लागि प्रदेशले विशेष जोड दिने बताउनुभयो । सुविधा सम्पन्न राष्ट्रले खेल र खेलाडीको लागि दिदै आएको सुविधा मध्ये नेपाली खेलाडीलाई २५ प्रतिशत सम्म उपलब्ध गराउन सके पनि उनीहरुले राष्ट्रको गरिमा अझ उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो । युवाहरुलाई स्वदेश मै अवसर सृजना गर्नका लागि यस वर्ष विशेष प्राथमिकता दिएको बताउनुभयो । रामपुर आफैमा सम्भावना बोकेको भुमि भएको बताउँदै याहाँका खेल संरचना निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । क्लवले गरेको साहसको प्रसंशा गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले व्यवसायिक खेलाडीहरु उत्पादनमा स्थानीय स्तरमा हुने प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । छरिएर रहेका युवाहरुलाई एकितृत गर्दै उनीहरुको क्षमता विकासका लागि क्लवले चालेको कदमको प्रशंसा गर्दै युवाहरुलाई सृजनात्मक बनाउन खेलकुदले सहयोग गर्ने बताउनुभयो । युवा शक्ति विदेशिने क्रम बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यस तर्फ तीनै तहका सरकार लाग्नु आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले रामपुर खेलकुदको लागि आफैमा उर्वरभूमि रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले क्लवले खेलकुद संगै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण टेवा दिएको बताउनुभयो । उहाँले क्लवले लुकेका प्रतिभाको उजागरमा पनि टेवा दिएको बताउनुभयो । त्यस्तै कार्यक्रममा युवा परिषद् लुम्बिनीका कार्यकारी उपाध्यक्ष गोविन्द केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शलेन्द्र भट्टराई, जिल्ला फुटबल संघ पाल्पाका अध्यक्ष प्रणयजंग राणा, नगर खेलकुद विकास स मितिका संयोजक कमल सेन, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विजयादशमी, शुभदिपावली संगै क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा भएको प्रतियोगिता रामपुरलाई खेलकुदको मध्यम बाट चिनाउन तथा स्थानीय खेलाडीहरुको स्तर वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा किसाबारी खेल मैदान नजिकै निर्माण गरिएको खेलकुद स्तम्भ पनि अनावरण गरिएको छ । कार्यक्रममा अवसरमा पञ्चेबजा, धर्मोदय दशावतार बालन लगाएतका मौलिक संस्कृतिको प्रदर्शन गरिएको थियो । साथै प्रतियोगिताको अवसरमा मौलिक खाना तथा मौलिक उत्पादनको स्टलहरु पनि राखिएको छ । असोज २८ गते सम्म हुने प्रतियोगितामा विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । साथै वेष्ट प्लेयर, वेष्ट किप्पर, हाई स्कोरर, वेष्ट डिफेन्डर, म्यान अफ द म्याच लगाएतका विद्यामा पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा रामपुर बाट दुई क्लव सहित पाल्पा, रुपन्देही, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासी गरी ६ जिल्लाका १० क्लवले सहभागीता रहेको छ । क्लवका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष सोम प्रसाद श्रेष्ठको स्वागत र सल्लाहाकार कृष्ण प्रसाद पौडेलको सञ्चालनमा भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?