ज्योतिपुञ्ज कपको उट्घाटन खेलमा भैरव स्पोर्टस क्लव विजयी

पाल्पा, रामपुरमा सुरु भएको ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताकोे उट्घाटन खेल भैरव स्पोर्टस क्लव नवलपरासीले जित्न सफल भएको छ । होराईजन क्लव वालिङ स्याङ्जालाई १/० गोलले पराजित गर्दै क्लव दोस्रो चरणमा प्रवेश गरेको हो ।

किसानबारी खेल मैदानमा भएको प्रतियोगिता अन्तर्गत उट्घाटन खेलको पहिलो हाफ दुवै समुहले एक अर्कालाई दबाबमा राखेको थियो । दोस्रो हाफको ८ औं मिनेटमा भैरव स्पोर्टस क्लवका टिम क्याप्टेन कमल भट्टराईले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भएको थियो । अन्तत भट्टराईको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
पहिलो खेलको म्यान अफ दि म्याच भैरव स्पोर्टसका टिम क्याप्टेन भट्टराई हुनु भएको छ । उनलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व उपाध्यक्ष बद्री पंगेनीले म्यान अफ दि म्याचको पुरस्कार सहित ट्रफी प्रदान गर्नु भएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबार २ वटा खेल हुँदैछ । पहिलो खेल दिउँसो १ बजे युथ क्लव भिमाद तनहुँ र चापाकोट युनाईटेड चापाकोट स्याङ्जा विच हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे न्यू युथ युनियन क्लव तानसेन पाल्पा र देवदह ब्वाईज रुपन्देही विच हुने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।

असोज २८ गते सम्म हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५  पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा रामपुर बाट दुई क्लव सहित पाल्पा, रुपन्देही, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासी गरी ६ जिल्लाका १० क्लवले सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?