पाल्पा, पाल्पाको रामपुरमा जारी ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता आयोजक ज्योतिपुञ्ज रामपुर (सेतो) सेमिफाईनलमा प्रवेश गरेको छ । बाई पाएर सोझै क्वाटर फाईनलमा पुगेको आयोजक बुधबार भएको खेलमा ज्योतिपुञ्ज रामपुर(सेतो), युथ क्लव भिमाद तनहुँलाई ट्राई ब्रेकरमा हराउँदै ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । ज्योतिपुञ्जको लागि कृपा चौधरीले पहिलो हाफको ५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउन सफल भएका थिए । पहिलो हाफ कडा प्रतिस्पर्धात्मका विच अघि बढे पनि १/० गोल मै सिमित भयो । दोस्रो हाफको २१ औं मिनेटमा युथ क्लव भिमाद तनहुँका लागि लोकेश थापाले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भयो । अन्तत निर्धारित समयको खेल १/१ को बराबरीमा सकिए पछि निर्णयका लागि ट्राई ब्रेकर पर्खिनु परेको थियो ।
पेनाल्टी सुट आउटमा भिमादका लोकेश थापा र ध्रुर्व श्रेष्ठले हानेको बल रामपुर ज्योति पुञ्जका गोल रक्षक विशाल चौवेले रोक्न सफल भएका थिए । ४/१ को जित निकाल्दै ज्योतिपुञ्ज रामपुर (सेतो) सेमिफाईनलमा पुगेको हो । खेलमा ज्योतिपुञ्जका गोलरक्षक बिशाल चौबे म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै बुधबार नै भएको एक मात्र प्रिक्वाटरफाइनल खेलमा फर्साटिकर युवा क्लबल रुपन्देहीले ज्योतिपुञ्ज युवा क्लब (रातो) लाई ६/० ले हराएको छ । खेलको पहिलो हाफको १२ औं मिनेटमा फर्साटिकरको लागि कृष्ण रानाले गोल गरेका थिए । त्यस पश्चात बलराम न्यौपानेले २६ औं मिनेटमा दोस्रो गोल गर्दै दोब्बर बनाउन सफल भएका थिए । दोस्रो हाफको १२ औं मिनेटमा बलराम न्यौपानेले ह्याट्रिक गर्न सफल भए । त्यस पश्चात दोस्रो हाफ मै फर्साटिकरको लागि असिष जिसीले १५ औं मिनेट, १८ औं मिनेट र २२ औं मिनेट गोल गरी लगातार ३ गोल गर्न सफल रहे । खेलमा ह्याट्रिक गरेका फर्साटिकरका आशिष जिसी म्यान अफ द म्याच बन्न सफल भएका छन् ।
प्रतियोगितामा होराईजन क्लव वालिङलाई १/० ले हराउँदै भैरव स्पोर्टस क्लव नवलपरासी सेमिफाईनलमा पुगिसकेको छ । त्यस्तै न्यु युथ युनियन क्लव तानसेन पाल्पा पनि ट्राई ब्रेकरमा देवदह व्बाईज रुपन्देहीलाई हराउँदै सेमिफाईनलमा पुगिसकेको छ । सेमिफाईनलका लागि फर्साटिकर युथ क्लव र सोझै क्वाटर फाईनलमा पुगेको सेन्ट्रल कलेज २८ विघा नवलपुर विच प्रतिस्पर्धा विहिबार ३ बजे प्रतिस्पर्धा हुँदैछ । विजेता टिम संग न्यू युथ युनियन तानसेनले असोज २७ गते फाईनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । आयोजक ज्योतिपुञ्ज ह्वाईट र भैरव स्पोर्ट क्लव नवलपरासीले असोज २६ गते प्रतिस्पर्धा गर्नेछ । वडा दशैं, तिहार तथा ज्योतिपुञ्ज युथ क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाईनल खेल भने असोज २८ गते आईतबार दिउँसो २ बजे हुने क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो ।
असोज २२ गते बाट किसानबारी खेल मैदानमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार रुपैयाँ र उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने छ । प्रतियोगितामा ६ जिल्लाका कुल १० टोलीहरुको सहभागिता रहेको छ ।