पाल्पा, रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार स्थापना दिवसको अवसरमा कार्यक्रम गरी साधारण सभा गरेको हो ।
वार्षिक साधारण सभा एवं स्थापनाम दिवस समारोहको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले कोरोनाका कारण उद्योगी तथा व्यवसायी संकटमा रहेको अवस्थामा सरकारले हेर्ने नजरका कारण पनि थप जटिल बन्दै गएको बताउनुभयो । सरकारको नीतिले व्यवसायी मारमा परेको भन्दै हेर्ने सोच परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । संघका सल्लाहाकार समेत रहनु भएका श्रेष्ठले व्यवसायीहरुलाई संगठित बनाएर महासंघमा आवद्धताका लागि पहल चाल्नु आवश्यक रहेको बताउनुभयो । जुनसुकै हालतमा संघको बहुउद्देश्य भवन निर्माण निर्माण हुनु आवश्यक रहेको बताउनुभयो ।
श्रेष्ठले विद्यालय र कलेजमा विद्यार्थी घट्दै जानू विदेशका लागि कन्सल्टेन्ट धाउने युवाहरुको संख्या बढ्दै जानू दुखद् विषय भएको भन्दै यसको लागि बेलैमा सोच्नु आवश्यक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठले व्यवसायीहरु अहिले तरवारको धारमा रहेको भन्दै उनीहरुको उत्थानका लागि सरकारले उचित नीति अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो । संघलाई महासंघको सदस्यता दिलाउनका लागि पहल गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश सदस्य मधुदयल शैजुले संघले छोटो समयमा महत्वपूर्ण उपलब्धी हात पार्न सफल रहेको बताउनुभयो । सरकारको नीतिको कारण उद्योगी व्यवसायीहरु समस्यामा परेको भन्दै व्यवसायीहरु एकजुट हुने समय आएको बताउनुभयो ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले व्यवसायीहरु बैंकको व्याज र व्यवसायमा आएको मन्दिका कारण राम्ररी निदाउन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले स्थानीय तहले नीति निर्माणमा उद्योगी व्यवसायीहरु संघ समन्वय गरेर बढ्नु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता कपिल बहादुर खाँणले संघले रामपुर नगरको लागि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । नगर विकासमा व्यवसायीहरुको महत्वपूर्ण स्थान रहेको भन्दै उद्योगी तथा व्यवसायीको हितका लागि आवश्यक कार्यक्रम संघ संग सहकार्य गरेर नगर अघि बढेको बताउनुभयो । रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले संगको भवन निर्माण चाँडै सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो ।
संघका सल्लाहाकार कमलराज भट्टराईले भवन निर्माण सम्पन्न गर्नको लागि सबैको चासो हुनु आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष रामप्रसाद गैरेले कोरोना पश्चात व्यवसायीहरु धरासायी भएको अवस्थामा उचित कदम चाल्नु पर्ने बताउनुभयो । संघका सल्लाहाकार हजुल दिन मियाँले व्यवसायीहरु एक ठाउँमा उभिएर संस्थागत ढंग बाट बढ्नु पर्ने समय आएको बताउनुभयो । संघका पूर्व वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले व्यवसायीको हकहितको लागि थप सक्रिय अभियान चाल्नु पर्ने बताउनुभयो । रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल रमेशले व्यवसाय घट्दो क्रममा रहेको अवस्थामा व्यवसायीहरु चर्को व्याजका कारण थप प्रभावित बनेको अवस्थामा यस तर्फ सबैले ध्यान दिनु पर्ने बताउनुभयो । अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले व्यवसायीहरुको हितको लागि सक्रिय भएर अघि बढ्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघले सञ्चालन गरेका कार्यक्रम र भावी योजनाको विषयमा जानकारी गराउनुभएको थिया् । उहाँले संघको बहुउद्देश्य भवनको यहि कार्तिकमा शिलन्यास गरी निर्माणलाई अघि बढाउने बताउनुभयो । हाल ७ सय ५० जना साधारण सदस्य आवद्ध रहेको बताउनुभयो । कार्यक्रमको अवसरमा इन्जिनियर आशिफ शेखले संघको प्रस्तावित बहुद्देश्य भवनको डिपिआर प्रस्तुत गर्नु भएको थियो । त्यस्तै राहत कोष बाट आगलागी पिडित व्यवसायीलाई राहत प्रदान गरेको थियो । संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई धन्यवाद वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुले ज्ञापन गर्नु भएको थियो । न्यू होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसी पुरुषोत्तमले गर्नु भएको हो ।