पाल्पा, रामपुर नगरपालिका–७, किसानबारीमा जारी ज्योतिपुञ्ज कप फुटबल प्रतियोगितामा फर्साटिकर युथ क्लव रुपन्देही सेमिफाईनलमा प्रवेश गरेको छ । बाई पाएर सोझै सोझै क्वाटर फाईनलमा पुगेको सेन्ट्रल कलेज २८ विघा नवलपुरलाई आज भएको क्वाटर फाईनलमा ५/१ गोल पराजित गर्दै फर्साटिकर सेमिफाईनलमा पुगेको हो ।
खेलको पहिलो हाफको १८ औं मिनेटमा फर्साटिकरका लागि आशिष श्रेष्ठले गोल गर्दै सुरुवाती अग्रता प्रदान गरेको थियो । २८ औं मिनेटमा फर्साटिकरका लागि अरुण चौधरीले थप एक गोल गर्न सफल भए । त्यस लगतै आशिष जिसीले ३३ औं मिनेटमा थप गोल गर्दै फर्साटिकरलाई पहिलो हाफमा ३/० गोलको अग्रता दिलाउन सफल भयो । दोस्रो हाफको १५ औं मिनेटमा फर्साटिकरको लागि पुन आशिष जिसीले नै अर्को गोल हान्न सफल भए । लगतै २४ औं मिनेटमा सेन्ट्रल कलेज २८ विघाको तर्फ बाट दिपेन रानाले १ गोल गर्न सफल भए । निर्धारित समय पश्चात थप अतिरिक्त समयमा भएको खेलमा फर्साटिकरका लागि आशिष जिसीले थप एक गोल गर्दै ह्याट्रिक गर्न सफल भए ।
खेलमा म्यान अफ दि म्यासच फर्साटिकरका आशिष जिसी म्यान अफ दि म्याच भएका छन् । उनलाई जापानीज समाजसेवी काजुमासा काकिमी ओके बाजेले पुरस्कार प्रदान गर्नु भएको छ । यस खेल संगै क्वाटर फाईनलको खेल सम्पन्न भएको छ । फर्साटिकर युथ क्लव रुपन्देही संगै प्रतियोगितामा आयोजक ज्योतिपुञ्ज रामपुर (सेतो), भैरव स्पोर्टस क्लव नवलपरासी र न्यू युथ युनियन तानसेन पाल्पा सेमिफाईनलमा पुगेको छ । आयोजक ज्योतिपुञ्ज सेतो र भैरव स्पोर्ट क्लव नवलपरासीले भोली शुक्रबार दिउँसो ३ बजे फाईनल खेलको लागी प्रतिस्पर्धा गर्नेछ । शनिबार न्यू युथ युनियन तानसेन र फर्साटिक युथ क्लव रुपन्देहीले खेल्ने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।
वडा दशैं, तिहार तथा ज्योतिपुञ्ज युथ क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाईनल खेल भने असोज २८ गते आईतबार दिउँसो २ बजे हुने क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । असोज २२ गते बाट किसानबारी खेल मैदानमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार रुपैयाँ र उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने छ । प्रतियोगितामा ६ जिल्लाका कुल १० टोलीहरुको सहभागिता रहेको छ ।