ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको उपाधी न्यू युथ युनियन तानसेनलाई

पाल्पा,रामपुर नगरपालिका–७, किसानबारीमा सम्पन्न ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको उपाधी न्यू युथ युनियन क्लव तानसेन पाल्पाले जित्न सफल भएको छ । आइतबार भएको फाईनल खेलमा आयोेजक रामपुर ज्योतिपुञ्ज (सेतो)लाई १/० गोलले हराउँदै न्यू युथयुनियनले उपाधी चुम्न सफल भएको हो ।

खेलको दोस्रो हाफको ४ मिनेटमा सवि गुरुङले गोल गर्दै टिमलाई उपाधी दिलाएका हुन् । न्यू युथ युनियनलाई कर्नर प्राप्त भएको थियो । आयुष गुरुङले कर्नर बाट हानेको बललाई सवि गुरुङले हेड गरी गोल गर्न सफल भएका थिए । पहिलो हाफ गोल रहित बराबरीमा रहेको खेलमा दोस्रो हाफमा उनले गरेको गोल नै अन्तत उपाधीको लागि निर्णायक गोल सावित हुन पुग्यो ।

यस संगै प्रतियोगिताको च्याम्पियन न्यू युथ युनियन क्लव तानसेन पाल्पाले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र हातपार्न सफल भएको छ । त्यस्तै उपविजेता रामपुर ज्योतिपुञ्ज (सेतो) ले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात प्राप्त गरेको छ । ज्योतिपुञ्ज युवा क्लवको २७ औं वार्षिक उत्सव संगै वडा दशैं तथा दिपावलीको अवसरमा गत असोज २२ गते देखि भएको प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी आयोजक रामपुर ज्योतिपुञ्ज (सेतो)का मोहित गुरुङ भएका छन् । उत्कृष्ट गोल्ड किप्पर न्यू युथ युनियन तानसेनका दिपेश परियार, उत्कृष्ट डिफेन्डर रामपुर ज्योतिपुञ्जका निशान रावल, हाईस्कोरर फर्साटिकर युथ क्लव रुपन्देहीका आशिष जिसी भएका छन् । उत्कृष्ट खेलाडीलाई नगर १० र अन्यलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

विजेता समुहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, अन्तराष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, दिव्यराता इन्टरप्राईजेजका डाईरेक्टर अविनव थापा, जापानिज समाजसेवी काजुमासा काकिमी लगाएले पुरस्कार प्रदान गर्नु भएको थियो । विजेता समुह तथा उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरको खेलकुदको विकासको लागि नगरपालिका संघ र प्रदेश सरकार संग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । सिमित स्रोत र साधनका विच नगरपालिकाले पहल गर्दै आएको बताउँदै प्रत्येक वडामा वडा स्तरीय खेल मैदान र नगरमा एक वटा क्षेत्रिय मैदान निर्माण गर्ने नगरपालिकाको योजना रहेको उल्लेख गर्नुभयो । साथै क्लवहरुलाई ज्योति पुञ्जले जस्तै रचनात्मक र सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभयो ।

अन्तराष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले खेल प्रतिभाको उजागर गर्नका लागि प्रतियोगितात्मक कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले आवश्यक पूर्वाधार निर्माण रामपुरको लागि अपरिहार्य रहेको बताउनुभयो । दिव्यतारा इन्टरप्राईजेजका डाईरेक्टर अविनव थापाले कम्पनीले व्यवसाय मात्र नभै सामाजिक कार्यमा पनि सहयोग गर्दै आएको बताउनुभयो । जापानीज नागरिक काजुमासा काकिमी ओके बाजेले प्रतियोगिताले खेलाडीहरुलाई थप हौसाला प्रदान गरेको बताउँदै क्लव मार्फत आगामी वर्ष जापानीज खेलाडीहरुको उपस्थितिमा भलिबल प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो ।

रामपुरलाई खेलको मध्यम बाट चिनाउन तथा खेलाडीहरुको स्तर वृद्धिका लागि प्रतियोगिता गरिएको क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा ६ जिल्लाका १० टोलीहरुको सहभागिता रहेको थियो । जहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको पनि उपस्थिती रहेको थियो । प्रतियोगिताको अवसरमा दैनिक रुपमा खेल सकिए पश्चात राष्ट्रिय कलाकारहरुको प्रस्तुति संगै मौलिक संस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । मौलिक खानाका परिकार सहितको स्टल पनि राखिएको थियो । क्लवका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रमको सञ्चालन क्लवमा सल्लाहाकार कृष्ण पौडेल र खुम सारुले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?