ग्रामीण वचत तथा ऋण सहकारी संस्थाकाे २५अैाँ बार्षिक साधारण सभा सम्पन्न

पाल्पा , ग्रामीण वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर २ पाल्पाको २५ औँ बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले सहकारी संस्थाहरु उद्देश्य अनुरुप चल्न नसक्नु चुनौतीको विषय भएको बताउनु भएको छ । जुन उद्देश्यले सहकारी स्थापना भएको हो सोही अनुसार सहकारी चल्न नसक्दा सहकारीको अवस्था नै संकटमा पर्दै गएको बताउनुभयो । सही ठाँउमा लगानी गर्न नसक्दा सहकारी नै डुब्ने अवस्थामा आएको औँल्याउनुभयो । “हरेक सहकारीले लगानी गर्दा शेयर सदस्य वा ऋणिको आर्थिक अवस्था कस्तो हुन्छ ऋण लिने व्यक्ति डुब्छ की माथी उठ्छ त्यो मुल्याङ्गन गरेर मात्रै सहकारीले लगानी गर्नुपर्छ” उहाँले भन्नुभयो –“धेरै लघुवित्त संस्थाहरु गाँउ गाँउमा भित्रिएकाले अन्धाधुन्ध लगानी प्रवाह गर्ने र लिएको ऋणको सही सदुपयोग गर्न नसक्दा ऋणी र सहकारी दुवैको अवस्था विग्रदो छ । ” नगर उपप्रमुख थापाले हरेक सहकारीले कृषि र व्यवसाय गर्ने व्यक्तिलाई लगानी गर्दा अन्य क्षेत्रमा भन्दा सस्तो व्याजदरमा ऋण प्रवाह गर्नु पर्ने बताउनुभयो । उहाँले नगर भित्रका सवै सकारीको प्रवद्र्धन गर्ने नीति र विभिन्न कार्यक्रम सहित अघि बढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले सहकारीको विकासका लागि सबै शेयर सदस्य र समिति जिम्मेवार हुनु पर्ने भन्दै संस्थाले गरेका कामको समिक्षा गरि रणनैतिक योजनाका साथ जानु पर्ने बताउनुभयो । साथै उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी बढान आग्रह गर्दै ऋणको सही सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष नारायण प्रसाद सिग्देल र उपाध्यक्ष शालिकराम सिग्देलले बोल्दै संस्थाको प्रगतिको शुभकामना दिनुभयो । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुर खाँणले एउटै उद्देश्यका साथ अगाडी बढ्न आग्रह गर्दै सहकारीलाई बलियो बनाउन सबैको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले सहकारीले बैदेशिक रोजगारीबाट फर्की कृषि पशुपालन व्यवसाय गर्न चहाने युवाहरुका लागि रामपुर नगरपालिका संगको सहकार्यमा कार्यक्रम गर्ने बताउनु भएको छ । साथैे सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान अवस्था र भावि रणनिति प्रस्तुत गर्नुभयो ।

साधारण सभाका अवसरमा असल बचतकर्ता प्रकाश कार्की क्षेत्री , असल ऋणी सुकमाया विश्वकर्मा , ज्येष्ठ सदस्य फुलमाया सार्कीलाई नगद सहित सम्मान गरेको छ । यस्तै सहकारीका पूर्व सञ्चालक समतिका पदाधिकारी र उपसमितिका संयोजकहरुलाई सम्मान गरेको छ । ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर २ पाल्पाका अध्यक्ष पूर्ण बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष बोम बहादुर थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव पदम अधिकारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?