रानीमहल नजिकै भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

पाल्पा, पाल्पाको पर्यटकीय स्थल तानसेन नगरपालिका १३ रानीमहल नजिकै आईतबार अपरान्ह भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जना कै पहिचान खुलेको छ । रानीमहल बाट बाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप तानसेन नगरपालिका १३, बैकुन्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा जिप चालक घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा तीन महिला, दुई बालबालिका र एक पुरुष रहेका छन् । दुर्घटनामा नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहरका ६० वर्षीया पार्वती लोहनी, सोही स्थानकै ६५ वर्षीय कृष्णबहादुर लोहनी, ११ वर्षीय सविस लोहनी, साढे दुई वर्षकी ईसव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङ बेंसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका चालक देवचुली नगरपालिका १६ रजहरका ३६ वर्षीय ईश्वर लोहनीको तानसेनस्थित युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटकीयस्थल रानीमहल घुम्न आएकाहरुलाई लिएर जिप तानसेनतर्फ फर्किने क्रममा आईतबार अपरान्ह ४ बजे दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोंच भएकोले उद्दारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा घाइते तथा मृतकको उद्धार गरिएको हो । दुर्घटनाग्रस्त जिप बैकुन्ठ पहाडबाट सय मिटर तल बराङ्गदी खोलामा खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?