आज बडा दशैं, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरी मनाईंदै

पाल्पा, आज विजया दशमी अर्थात् नव दुर्गाको मुख्य दिन । मान्यजनबाट शुभ साईतको प्रतीक रातो टिका, समृद्धिको प्रतिक पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वदक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ ।

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टिकाको उत्तम साइत आज मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ । आज बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।
कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।लगाई दिने व्यक्ति पश्चिम र लगाउने व्यक्ति पुर्व फर्किएर लगाउने प्रचलन छ । कार्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा सम्पन्न हुन्छ ।

चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण आज दशैं टीका परेको हो । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने भएको छ । यस वर्ष कोरोना भाईरसको कारण दशैं निकै प्रभावित भएको देखिन्छ । सरकारले पनि परिवारका विच मात्र दशैं मनाउन आग्रह गरेको छ ।
मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले आह्वान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?