नेपाली काँग्रेस रामपुरको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पाल्पा , नेपाली कांग्रेस कार्यसमिति रामपुर नगर कार्यसमिति रामपुर पाल्पाले शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरुको महानपर्व विजयादशमी, शुभ दीपावली, छठ , नेपाल संवत् ११४४ लगायत विभिन्न चाड पर्वको पावन अवसरमा एक कार्यक्रम गरी शनिबार शुभकामना आदान प्रदान गरेको हो ।

विभिन्न राजनितिक दल र पार्टिका नेता कार्यकर्ताहरुको उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीले देशको विकास र समृद्धिका लागि सवै राजनितिक दल एक ठाँउमा उभिनु पर्ने बताउनुभयो । राजतिनिक दल प्रति आम जनताको बुझाई नकारात्मक बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले पछिल्लो समय राजतन्त्र व्यूउँत्याने हल्लाको पछि नलाग्न आग्रह गर्दै राजतन्त्र आउने कुनै सम्भावना नरहेको ठकुवा गर्नुभयो । “सबै अधिकार एउटा व्यक्तिमा निहित हुनु हुँदैन , राजतन्त्रमा हुने यही हो” –उहाँले भन्नुभयो । साथै यसको पछाडी नलाग्न समेत लुम्बिनी प्रदेश सदस्य अधिकारीले आग्रह समेत गर्नुभयो । यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुमाया ढकालले सबै राजनितिक दलका कार्यकर्ताले जुनसुकै दलको भए पनि सहिलाई सहि र गलतलाई गलत व्याख्या गर्दै नेतृत्वलाई खबरदारी गर्न आवश्यक रहेको औल्याँउनु भयो । बढ्दो वैदेशिक रोजगारीलाई रोक्न युवाहरुलाई स्वदेशमै रोजगारी दिन सक्ने वातावरण बनाउन सके राजनीतिक दल प्रति सकारात्मक बन्ने बताउनुभयो । यसैगरी नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य सन्दिप रानाले देशमा केही हुँदैन र नेताले केही गर्न सक्दैन भन्ने नकारात्मक भाव जनतामा पैदा हुनु राजनीतिक दलहरुका लागि चुनौतिको रुपमा रहेको उल्लेख गर्नुभयो । व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेका सवै दलले अब अवस्था परिवर्तनका लागि लाग्न आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक विचार बोकेको पार्टी नेपाली काँग्रेसले मात्र सबै राजतनीतिक दल , क्षेत्र , समुदायलाई समेटेर देश विकास र परिवर्तनको नेतृत्व गर्न सक्ने भन्दै चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस पाल्पाका जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले विकासको लागि सबै राजनितिक दल एक ठाँउमा उभिनु पर्ने वेला आएको बताउनुभयो । उहाँले दल भित्र आफुहरु भित्रकै अविश्वासका कारण पाटि प्रतिको आस्था घट्दै गएको बताउनु भएको छ । साथै गाहाले काँग्रेसका संस्थापक नेता विपिको मेलमिलापको सिद्धान्त र महान , बैज्ञानिक र ऐतिहासिक विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख एवं नेपाली काँग्रेसका महासमिति सदस्य रमण बहादुर थापाले राजनीति प्रति जनताको विश्वास कम हुँदै गएको भन्दै सबै राजनीतिक दल सच्चिन जरुरी रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो –“सबै दल सच्चिन जरुरी छ नसच्चिए सकिन्छ , सबै सचेत हुनुपर्छ ।”साथै पछिल्लो समय राजनीतिक दल प्रतिको अविश्वासका कारण सिद्धान्त विनाका नयाँ दल प्रति आकर्षित हुनु स्वभाविक भएको भन्दै नगर प्रमुख थापाले सिद्धान्त विनाको राजनीतिले केही पनि गर्न नसक्ने र दिगो र सफल पनि नहुने बताउनुभयो ।

यस्तै नेकपा एमाले रामपुर नगर कमिटिका अध्यक्ष विष्णु प्रसाद रेग्मीले परिवर्तनका लागि सबै राजनीतिक दलहरु विच सहकार्य भए पनि सत्ताको स्वार्थमा लागेका कारण जनताले चाहे अनुसारको विकास गर्न नसकेकाले दलप्रति जनतामा वितृष्णा छाएको बताउनुभयो । यसैगरी नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटि अध्यक्ष यम बहादुर सुनारले देशको परिवर्तन नचहाने पश्चागामी शक्तिहरुले राजनितिक दलहरुको कुप्रचार गरेका कारण चुनौती थपिदैँ गएकाले भ्रम चिर्न परिवर्तनका पक्षधरहरु एक भएर लाग्नु पर्ने बताउनु भएको छ । यस्तै नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतमले इतिहास बोकेका राजनीतिक दलहरु खस्कदो अवस्थामा रहेकाले गम्भीर समिक्षा गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष राम प्रसाद गैरेले सकारात्मक कामका लागि जुनसुकै दल भए पनि सहकार्य गरेर अगाडी बढ्नु पर्ने भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य देवराज ढकालले शुभकामना आदान प्रदान कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै विपिको मेलमिलापको नीति अनुसार २०३४ साल देखि विजया दशमीको पूर्णिमाको दिन सद्भावका लागि शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको बताउनुभयो । साथै उहाँले विपिको विचार र सिद्धान्तका साथै योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले रामपुर नगरको विकासका लागि शिक्षा , स्वास्थ्य , संचार र पर्यटनको हब बनाउन सबै दल एक भएर लाग्नु पर्ने बताउनुभयो । साथै नगरको विकासका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति ज्ञान प्रसाद भण्डारीको स्वागत , सचिव चिरन्जिवी सिग्देलको धन्यवाद ज्ञापन र सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा सम्पन्न भएको हो । गणेशमान स्मृति प्रतिष्ठान भवन रामपुर वेझाँडमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिहरुलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारी र महासमिति सदस्य देवराज ढकालले टिका जमरा लगाई दिनु भएको थियो भने सहभागिहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?