जनताको पक्षमा काम गर्ने बेला आएको छ : कांग्रेस केन्द्रीय सदस्य महर

पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता नैनसिं महरले नेपाली जनताले चाहेको राजनीति विपीले देखाएको बाटो उपयुक्त भएको बताउनुभएको छ । जनताको पक्षमा काम गर्नका लागि अब काँग्रेस जनताको घरदैलोमा पुग्नुपर्नेमा नेता महरको जोड थियो ।

नेपाली काँग्रेस तानसेन नगर सम्मेलनको सोमबार तानसेनमा उद्घाटन गर्दै सम्भावना भएपनि त्यसलाई नदेखेकै कारण अहिलेको परिस्थिति आएको बताउनुभयो । हिजोका दिनमा अवस्था फरक थियो तर अहिले परिस्थिति बदलिएकाले जनताले के चाहेको छन् भन्ने कुरालाई ध्यान दिनुपर्ने बेला आएको महरले बताउनुभयो ।

नेता महरले जनताले स्थायी शान्ति र दिगो विकास चाहेको बताउँदै आगामी दिनमा जनताको मनोभावना बुझेर मात्र अघि बढ्न सुझाव दिनुभयो । उहाँले नेपाली जनताको पक्षमा काम गर्दै गर्दा पनि कतिपय अवस्थामा नेताबाट गल्ती भएको भए जनताले पनि सुधारका लागि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजनप्रसाद पन्तले जनताको पक्षमा काम गर्नुपर्ने बेला आएकाले अब सबैले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस सभापति हिमालदत्त श्रेष्ठले जनताको घरदैलोमा पुगेर उनीहरुको अवस्थाबारे बुझेर आगामी दिनमा राजनीतिक रणनीति अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य तथा काँग्रेसका पूर्व सभापति बीरबहादुर रानाले अब आफैबाट सुधार गरेर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, नेपाली काग्रेस नगर सभापति सुवर्णमुनी शाक्य, सचिव शैलेन्द्र भटराई लगायतले नगर सम्मेलनले आगामी दिनमा काँग्रेसलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?