स्याङ्जाको चापाकोट–७ खासामा बञ्चारो प्रहार गरी श्रीमतीको हत्या

स्याङ्जा, चापाकोट नगरपालिका ७ स्याङ्जामा एक व्यक्तिले बञ्चारो प्रहार गरी श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिब ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति अनुसार श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो । साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ छ।

यसअघि पनि श्रीमान श्रीमती विच बेलाबखत कुटपिट र झैझगडा हुने गरेको जानकारी पाइएको र घटना राति कुन समयमा भयो भन्नेबारे यकिन नभएको उहाँले बताउनुभयो । कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल लगिएको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?