पाल्पा, रामपुर नगरपालिकाले रजघरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति रामपुर ३ पाल्पाको तदर्थ समिति गठन गरेको छ । २०७० सालमा स्थापना भएको समितिको शनिबार बसेको नगर कार्यपालिकाको ८ औं कार्यपालिका बैठकले सुर्य प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्य तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा यज्ञमुर्ति घिमिरे, सचिवमा हरि पोखरेल, सहसचिवमा खडक बहादुर सिं ठकुरी मदन, कोषध्यक्षमा शोभा खनाल क्षेत्री, सदस्यहरुमा खिम कुमारी कुमाल, देउमाया वि.क., यमकान्त पाठक र अनिल सेन ठकुरी रहनु भएको छ । यस अघि २०७० सालमा गठन भएको तदर्थ समितिले काम गर्दै आएको थियो । समितिको काम प्रति असन्टुष्टि जनाउँदै उपभोक्ताले संर्घष समिति नै गठन गरेको थियो ।
२०७२ सालमा संस्थाले व्यक्ती संग पानीको मुहान खरिद गरे पनि २०७५ सालको उपभोक्ता भेलामा जानकारी नगराएको, मुल संस्थाको नाममा नामसारी नगरेको, लेखापरीक्षण नगरेको, २०७५ देखि उपभोक्ता भेला नभएको भन्दै उपभोक्ताले संघर्ष समिति गठन गरेकोे थियो । साथै २०८० मा उपभोक्ता भेला गरेर २०७२ मा ८ लाख ८२ हजारमा खरिद गरेको जग्गाको रकमको व्याज मात्रै २१ लाख देखाए पछि उपभोक्ताले संघर्ष समिति गठन गरी वडा कार्यालयमा छलफलका लागि निवेदन दिएका थिए ।
संघर्ष समितिले जग्गा नामसारी नगर्दै व्याज तिर्न नसक्ने अडान राखे पछि वडा बाट छलफल टुङ्गीन सकेको थिएन । त्यस पश्चात संघर्ष समितिले नगरपालिकाका न्यायिक समितिमा निवेदन दिएको थियो । न्यायिक समितिले कार्तिक १२ गते उपभोक्ता समिति र संघर्ष समितिलाई बोलाएको थियो । छलफल पश्चात पुरानो समितिलाई १६ गते भित्र समितिको हिसाव सार्वजनिक गर्ने र १७ गतेको बैठक बाट तदर्थ समिति चयन गर्ने सहमति भएको थियो ।
त्यस पश्चात १७ गतेको बैठक र १८ गतेको बैठकमा पुरानो समिति उपस्थिति नभए पछि कार्यपालिकाको बैठकले तदर्थ समिति चयन गरेको हो । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १ सय २ बमोजिम रामपुर नगरपालिकाको खानेपानी उपभोक्ता समिति तथा मुल दर्ता कार्यविधि २०७६ को परिच्छेद २, बुँदा नं. १५ र २३ को अधिनमा रहेर तदर्थ समिति गठन गरेको जनाएको छ ।