पाल्पाको निस्दी ७ मा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाईते

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका– ७ पाल्पामा टिप्परले दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षिय दिल कुमारी आले रहनु भएको छ ।

बुधबार विहान साढे ८ बजे निस्दी–७ ज्यामिरे मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्पर अचानक ब्रेकमा फेल भई सडकको भित्तामा ठोकिन गएको थियो । टिप्परमा चालक सहित ४ जना सवार थिए । आलेको टिप्परबाट हाम फाल्ने क्रममा सोही टिप्परको टायरले किच्दा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा निस्दी गाउँपालिका – ७ बस्ने २५ वर्षिय हिमाली आले टिप्परबाट हाम फाल्ने क्रममा घाईते हुनु भएको छ । त्यस्तै चालक मनोहरी गा.पा. ९ मकवानपुर बस्ने बर्ष २६ को अन्जन सुनार र सहचालक हेटौडा ९मकवानपुर बस्ने वर्ष २४ को आशिष सुनार सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?