भुकम्प पिडितको लागि रामपुरमा २२ जनाले गरे रक्तदान

पाल्पा, जिल्लाको रामपुरमा २२ जनाले रक्तदान गरेका छन् । गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परी घाईते भएकाहरुको लागि मध्यनजर गर्दै रामपुर नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखा संगको सहकार्य र लुम्बिनी मेडिकल कलेज तानसेको प्राविधिक सहयोगमा नगरपालिका कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरिएको हो । रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख एवं रामपुर ७ का वडाअध्यक्ष दोवराज तिवारीले गम्भीर घाइते भएकालाई जुनसुकै बेला रगत आवश्यक पर्ने हुँदा रगत सङ्कलन गरिएको बताउनुभयो । नगरपालिकाले सूचना जारी सर्वसाधारणलाई रक्तदानको अनुरोध गरेर रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईका अनुसार संकलन भएको रगत आवश्यक परेको स्थानमा पठाईने छ । कार्यक्रममा सर्वसाधारण, सुरक्षा बेस क्याम्प रामपुरमा कार्यरत नेपाली सेना, नगर प्रहरी गरी २२ जनाले रक्तदान गरेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेले बताउनुभयो । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका ल्याव टेक्निसियन प्रजिस बज्राचार्यको नेतृत्वमा आएको प्राविधिक टोलीले रगत संकलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?