पाल्पा, रामपुर नगरपालिका ३ पाल्पामा खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशिल युवा समाज रामपुर नगरपालिका–३ पाल्पाको १२ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा घिरिङ गाउँपालिका कटहरे प्रथम भएको छ । फाईनल खेलमा आयोजक प्रगतिशिल युवा समाजलाई २/१ सेटले पराजित गर्दै कटहरेले प्रथम स्थान हासिल गरेको हो । यस संगै आयोजक द्वितिय भएको छ । त्यस्तै प्रतियोगितामा चापाकोट ७ पट्सार तृतिय भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहलाई नगद रु ३० हजार, द्वितिय पुरस्कार नगद रु २० हजार,तृतिय पुरस्कार नगद रु १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै खुल्ला वडा स्तरीय प्रौढ भलिबल प्रतियोगितामा चापाकोट नगरपालिका १० विजयी भएको छ । व्याटमिन्टन प्रतियोगितामा प्रथम चापाकोट ८ स्याङ्जा र द्वितिय आयोजक भएको कार्यक्रम संयोजक मदन सिं ठकुरीले जानकारी दिनुभयो ।
क्यारेमबोर्ड प्रतियोगितामा रजघरा क्लबका चिरञ्जीवी थापा क्षेत्री र थन बहादुर थापा प्रथम र द्वितिय रामपुर ४ खोप्टारका किरन थापा र विष्णु थापा भएका छन् । प्रगतिशिल युवा समाज सदस्य अन्तर्गत नृत्य प्रतियोगितामा प्रथम निशाना मल्ल, द्वितिय सोनिया उचै र तृतिय सिमा सिं ठकुरी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी समुहलाई वार्षिक उत्सव समारोहको अवसरमा पुरस्कार वितरण गरिएको थियो । प्रगतिशिल युवा समाजका अध्यक्ष राम बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाठकले समाज रुपान्तरणमा क्लव र समुहहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले युवाहरुलाई सृजनशिन बनाउन प्रतियोगितात्मक कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ३ का पुर्व वडा सदस्य यज्ञमुर्ति घिमिरे, नेपाली कांग्रेस रामपुर ३ का सभापति प्रकाश ज्ञवालीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
क्लवका उपाध्यक्ष जनुका घर्तीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन रामभक्त पराजुली र हरिचन्द्र पोखरेलले गर्नु भएको हो । कार्यक्रमको अवसरमा समाजले समाजका १६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो ।