पाल्पा, रामपुर नगरपालिका–६ तातोपानीमा सामूहिक रुपमा गोवर्धन पूजा गरिएको छ । तातोपानी स्थित नगर गौशालामा स्थापना गरिएकोे गोवद्र्धन पर्वतमा तिहारको चौथो दिन आज पूजा गरिएको हो ।
पूजाको लागि सयौंको संख्यामा गौशाला पुगेका थिए । पछिल्लो समय गाई पाल्ने परम्परा हराउँदै गएकाले गोवद्र्धन पूजाको लागि श्रद्धालुहरु पुजा गर्न तातोपानी पुगेका हुन् । गौशालामा स्थापना गरिएको गोवर्धन पर्वतमा श्रद्धालुभक्तजनहरुले वैदिक विधी पूर्वक पूजा गरेका थिए । साथै गौशालामा रहेका १ सय ७२ बढी गाईलाई साटु तथा रोटीहरु खुवाएका हुन् । आज विहान साढे ८ बजे बाट पूजा सुरु गरिएको थियो ।
नगर गौशाला समितिका संयोजक हुमनाथ न्यौपानेका अनुसार पछिल्लो समय गाईलाई दान गर्न, पुजा गर्न तथा अवलोकनका लागि आउनेहरुको संख्या बढ्दै गैरहेको जानकारी दिनुभयो । तिहार संगै गाईलाई साटु खुवाउन र दानका लागि दैनिक सयौंको संख्यामा गौशाला आउने गरेको उहाँले बताउनुभयो । गौशालाले दुध तथा मलको लागि गाई पाल्न इच्छुकहरुलाई निःशुल्क गाई प्रदान गर्ने र फिर्ता गर्दा ३ हजार शुल्क तिरेर ल्याउने व्यवस्था गरेको गौशालाका व्यवस्थापक निलकण्ठ भण्डारीले जानकारी दिनुभयो । गौशालामा हाल १ सय ७२ गाई रहेको छ । भने केही गाई पाल्न इच्छुकहरुलाई दिईएको छ ।