तिहारको अन्तिम दिन आज भाईटीका, उत्तम साईत विहान १०ः५१ मा

 

पाल्पा, तिहार पर्वको अन्तिम दिन आज भाईटीका पर्व मनाईदै छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाईदैछ ।

यसबर्ष भाई टिकाको उत्तम साईत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ । साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट पारेको छ ।दिदीबहिनीले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन् ।

पौराणीक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मान पुर्बक पुजाआजा सहित भाईटिका लगाएको सम्झनामा यो परम्पराको सुरुवात भएको मानिन्छ । टिकामा साईतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाईलाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस, मसला तथा सेलरोटी खुवाउने चलन छ । दिदी बहिनीले टिका लगाई दिएपछि दाजुभाईहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्ने गरिन्छ ।

भाइटीकाका दिन भाइलाई दिदीबहिनीले कालको मुखबाट समेत बचाइ दिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा आराम गर्न र टीका लगाउन आउने पौराणिक विश्वास छ । यसै दिनको सम्झनामा आज दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिष्ठान्न भोजन गराउने गरिन्छ । दिदीबहिनीले लगाई दिने रंगमा सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो निरोगिताको प्रतिक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?