पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धी अभिमुखीकरण रामपुरमा सम्पन्न

पाल्पा, रामपुर नगरपालिका पाल्पामा एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखा मार्फत स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण प्रदान गरिएको हो ।

परिवार कल्याण महाशाखाको आर्थिक तथा प्राविधिक सहयोग र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा शनिबार पालिका भित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण प्रदान गरिएको हो । कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डाक्टर सरिता घिमिरेले अन्य क्यान्सरको तुलनामा पाठेघरको क्यान्सरको जोखिम धेरै भए पनि समय मै स्क्रिनिङ गरी पहिचान गर्न सके उपचार सफल हुने बताउनुभयो । उहाँले स्क्रिनिङ टेष्टको महत्व, एचपीभी डीएनए विधिबाट गरिने स्क्रिनिङ र उपचार पद्धतिको बारेमा जानकारी गराउनुभएको थियो । डा.समिना राज भण्डारीले एचपीभी डीएनए विधि बाट गरिने स्क्रिनिङ विधिको बारेमा जानकारी दिनु भएको थियो । परिवार कल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्पराज जोशीले निःशुल्क एचपीभी र डीएनए परीक्षणलाई केही जिल्लामा पाइलट प्रोग्रामको रुपमा लागु गरेको जानकारी दिनुभयो । साथै जोशीले नेपालमा क्यान्सर रोगको वर्तमान अवस्थाका बारेमा प्रकाश पर्नु भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख एवं वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले स्वास्थ्य संवेदनशिल क्षेत्र रहेको भन्दै कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गर्न कार्यपालिकामा छलफल गर्ने बताउनुभयो । निमिक्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलले क्यान्सरको समय मै पहिचान हुन नसके सर्वस्व गुमाउनु पर्ने अवस्था आउने भएकाले यस तर्फ सचेत रहनु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले मंसिर महिना भित्र पालिका भित्रका ३५ देखि ४० वर्ष उमेर समुहका महिलाहरुको तथ्याङ्क संकलन गरी पुसमा परीक्षणका लागि नमुना संकलन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख चेमन प्रकाश पोखरेलले गर्नु भएको हो ।

यस्तै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार रम्भा गाउँपालिकामा पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?