पिपल भञ्ज्याङ्गमा सम्पन्न वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी बौदीकाली ४ लाई

पाल्पा, निस्दी गाउँपालिका–५, पिपल भञ्ज्याङ्गमा पाल्पामा सम्पन्न खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका ४ नवलपुरले हात पारेको छ । जुनतारा समाजकोे २५ औं वार्षिक उत्सवको अवसरमा भएको प्रतियोगिताको फाइनल खेलमा तनहुँको घिरिङ १ लाई २/० को सोझो सेटमा पराजित गर्दै बौदीकाली ४ ले उपाधी जितेको हो ।

पहिलो सेट २५/१४ अंक र दोस्रो सेट २७/२५ अंक सहित बौदीकाली ४ ले हात पारेको थियो । यस संगै घिरिङ १ ले द्वितीय स्थानमा चित्त बुझाएको छ । त्यस्तै १३ समुहको सहभागिता रहेको प्रतियोगितामा बौदीकाली गाउँपालिका २ तृतिय भएको छ । तृतिय स्थानको लागि समय अभावका कारण खेल हुन नसके पछि आयोजक जुनतारा समाजले बौदीकाली २ लाई तृतिय उपाधी सुम्पेको थियो । प्रतियोगितामा विजयी समुहले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेष्ट स्पाईकर घिरिङ १ का मिलन चन्द ठकुरी, वेष्ट बल्कर बौदीकाली ४ का अशोक श्रेष्ठ, वेष्ट डिफेन्डर बौदीकाली ४ का सुरेन्द्र गाहा मगर र वेष्ट प्लेयर बौदीकाली ४ का विश्वास अधिकारी भएका छन् ।

त्यस्तै ६ समुहको सहभागिता रहेको खुल्ला प्रौढ भलिबल प्रतियोगितामा रामपुर विजयी भएको छ । आयोजक जुनतारा समाजलाई फाईनलमा २/१ सेटले पराजित गर्दै रामपुर विजयी भएको हो । यस संगै आयोजक उपविजेता बनेको छ । विजेता र उपविजेता दुवै समुहले बोका संगै मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वार्षिक उत्सवको अवसरमा भलिबल प्रतियोगिता संगै विविध साँस्कृतिक कार्यक्रम भएको थियो । जुनतारा समाजका अध्यक्ष तिल बहादुर राक्सेको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले सामाजिक सद्भावलाई कायम राख्दै समाजरुपान्तरणमा अघि बढ्न युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले क्लवले गरेको कार्यको प्रशंसा गर्नुभयो । सांस्कृतिक कार्यक्रममा नेपाल आईडल सिजन २ का टप फाईभमा पर्न सफल अमित बराल संगै हिट ब्याण्डको बेजोड प्रस्तुति रहेको थियो । साथमा सांस्कृतिक झाँकी पञ्चेबाजा, कौरा नृत्य पनि प्रस्तुत गरिएको थियो । जुनतारा समाजको खेल मैदानमा भएको कार्यक्रमको सञ्चालन समाजका सदस्य भुवन राक्सेले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?