हरिबोधिनी एकादशीको दिन रामपुर नगरमा सार्वजनिक बिदा

पाल्पा, पाल्पाको रामपुर नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा विहिबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज दिउँसो एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।

हरिबोधिनी एकादशीलाई यस क्षेत्रमा धार्मिक उत्सवको रुपमा मनाउने भएकाले नगर कार्यपालिकाको निर्णय अनुसार मंसिर ७ गते विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो । कालिगण्डकी नदी किनारका विभिन्न स्थानमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्दै आएको छ । नगरपालिकाले विगतका वर्षहरुमा पनि हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको थियो ।

ठूलो एकादशीको रुपमा लिईने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनार अन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगाएतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरु पुग्ने गर्दछन् । भोली रामपुर नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?