रामपुर ६ बुल्टार पाल्पामा सेभेन ए साईड फुटबल प्रतियोगिता सम्पन्न

पाल्पा , रामपुर नगरपालिका वडा नं. ६ बुल्टार पाल्पामा सेभेन ए साईड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

न्यू रामपुर मोडेल सोसाईटि रामपुर ६ पाल्पाको आयोजनामा भएको प्रतियोगिताको उपाधी ज्योतिपुञ्ज युवा क्लव रामपुर ७ पाल्पाले जित्न सफल भएको छ । बुधबार भएको फाईनल खेलमा लालि गुराँस एशोसियशनलाई ३ – ० गोल अन्तरले पराजित गर्दै ज्योतिपुञ्ज युवा क्लवले उपाधि जितेको हो । जितका लागि ज्योतिपुञ्ज युवा क्लवका टिम क्यापटेन गौरब क्षेत्रीले २ र विशाल मल्लले १ गोल गरेका थिए । उपाधि संगै ज्योतिपुञ्ज युवा क्लवले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको लालि गुराँस एशोसियशनले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको समापन संगै पुरस्कार वितरण गर्दैै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदले खेल क्षेत्रको मात्र नभई व्यक्तिगत स्वास्थ्य , आर्थिक र सामाजिक विकास पनि गर्ने बताउनुभयो । खेलकुदले समग्र राष्ट्रको पहिचान गर्ने भए पनि त्यति लगानी गर्न नसक्नु दुखद विषय भएको उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले खेलकुद र खेलाडीलाई राष्ट्रले जिम्मेवारीपूर्वक बढि सम्मान र प्रोत्सहान गर्न आवश्यक रहेको औँल्याउँनुभयो । स्थानीय सरकार सिमित स्रोत साधनका विच खेलकुदको विकासका लागि प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । साथै उहाँले खेलकुदमा मात्र सिमित हुन नहुने भन्दै विभिन्न क्लवहरुलाई समाजमा रहेका विकिृति विसंगति हटाई रचनात्मक र सकारात्मक काम गरेर समाज विकासमा लाग्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा जापानिज नागरिक समाजसेवि काजुमासा काकिमि ओकेबाजेले खेलकुद क्षेत्रको विकासका लागि आफुले पनि सहयोग गर्ने भन्दै व्यक्तित्व विकास र व्यवसायीक खेलाडी बन्नका लागि अनुशासनपूर्वक खेल खेल्न आग्रह गर्नुभयो । साथै उहाँले क्लवले सहयोग गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि क्लवले गर्ने कार्यक्रममा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले विभिन्न समयमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादन संगै खेलाडीको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको बताउनुभयो । क्ल्वहरुले गर्ने यस्ता प्रतियोगिताले प्रतिभाको प्रस्फुटन गर्ने अवसर प्रदान गरेको भन्दै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म पुग्ने खेलाडी उत्पादनको लागि आधार स्तम्भ पनि  भएको बताउनुभयो । साथै नगरभित्र हुने विभिन्न खेलकुदका कार्यक्रम र खेलको विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का सदस्य हरिनाथ ढुंगानाले वडा भित्र हुने खेलकुद र विभिन्न क्लवहरुले गर्ने कार्यक्रममा वडाको सहयोग रहने बताउनुभयो ।

न्यू रामपुर मोडेल सोसाईटि रामपुर पाल्पाका अध्यक्ष सुन्दर मल्लको अध्यक्षतामा भएको फुटबल प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सोसाईटिका सचिव राजेश पौडेलले गर्नु भएको थियो । सेभेन ए साईड फुटबल प्रतियोगितामा १९ समुहको सहभागिता रहेको खेल संयोजक मदन सेनले बताउनुभयो । प्रतियोगिता समापनका अवसरमा प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?