आज हरिबोधिनी एकादशी, तुलसी विवाह सहित विशेष पूजापाठ गरी मनाईदै

पाल्पा, आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउँदैछन् ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् । हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।

तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी ब्रत गरेमा पापको नाश भई पूण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी ब्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

एकादशीमा स्नान गर्नेहरुको आज गण्डकी वेशी क्षेत्र भएर बग्ने पवित्र कालीगण्डकीको विभिन्न घाटहरुमा बाक्लो उपस्थिति रहने गर्दछ । भक्तजनहरु विहानै देखि नदी किनार पुगिरहेका छन् । साथै पवित्र नदी कादी नदी संगै विभिन्न नदी किनारमा भक्तजनहरुको उपस्थिति बाक्लो रहेको छ । आज कालीगण्डकी किनारको रिडी, राम्दी, ज्याग्दी, केलादी, हुँगी, भुजात, तातोपानी, रामघाट, आँधीघाट, बालीघाट, देवघाट लगाएतका विभिन्न स्थानमा विशेष मेला पनि लागेको छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?