रामपुर-६ तातोपानी धाममा तुलसी विवाह अनुष्ठान सम्पन्न

पाल्पा, हरिबोधिनी एकादशीको अवसरमा  रामपुर नगरपालिका वडा नं. ६ तातोपानी धाममा तुलसी विवाह अनुष्ठान तथा तोरण तारण कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगर गौशालाको आयोजना र सुन्दर फन पार्कको समन्वयमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा तातोपानी धाम स्थित सुन्दर फनपार्कमा निर्माण गरिएको दशरथ राजा र वशिष्ठ ऋषिको मूर्ति अनावरण तथा तुलसीमठमा वैदिक विधी पूर्वक पुजा गरी तुलसी विवाह गरिएको थियो । साथै सोही अवसरमा रामपुर नगर गौशाला र नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेको परिवार तर्फ बाट विधि पूर्वक दुई वटा तोरण तारिएको थियो ।

रामपुर नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम अनन्त श्री विभुषित जगत गुरु स्वामी विध्धेश्वरनन्द सरस्वती श्री महाराजको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा वशिष्ठ ऋषि र राजा दशरथको मूर्ति अनावरण गर्दै प्रमुख अतिथी महाराजले रामपुर आफैमा पुण्य देव भूभी भएको भन्दै गाई खुशी भएको स्थानमा कहिल्यै अनिष्ट नहुने बताउनुभयो । उहाँले गाईको महत्वको बारेमा प्रवचन दिनुभएको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले नगर गौशालाको क्रियाशिलताको प्रशंसा गर्दै  गौशालाले यस क्षेत्रको धार्मिक पर्यटन थप टेवा दिएको बताउनुभयो । उहाँले गौशालाको दिगोपन र व्यवस्थापनको लागि आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका कालीनदी सभ्यताको संरक्षण र प्रर्वद्धन गर्दै अघि बढेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा हिन्दु युवा बाहिनी उत्तर प्रदेशका विजय अग्रहरी, बालगुरु विष्णु कश्यपुले आफ्नो भनाई राख्नु भएको थियो । १३ फिट लम्बाई, १३ फिट चौडाई र ८ फिट उचाई सहितको तुलसी मठ निर्माण गरी लगाइएको तुलसीको विवाह गरिएको थियो । नगर गौशाला नजिकै निर्माण भएको सुन्दर फन पार्क निर्माणको क्रममा गत वर्ष यस क्षेत्रकै ठूलो तुलसीको मठ निर्माण गरिएको दावी गरिएको छ । रामपुर नगर गौशाला समितिका संयोजक हुमनाथ न्यौपानेले तातोपानी धामको धार्मिक महत्वलाई थप उजागर गर्न सुन्दर पार्कको सहकार्यमा यस क्षेत्र कै ठूलो तुलसी मठ निर्माण गरिएको जानकारी दिनुभयो ।

सुन्दर फन पार्कका अध्यक्ष सुन्दर प्रसाद देवकोटाले संघिय सरकार बाट प्राप्त १० लाखको बजेत मार्फत पार्कमा वशिष्ठ ऋषि, राजा दशरथको मूर्ति, तुलसीको मठ निर्माण, चौतारी संरक्षण, बालउद्यान तथा पार्कको घेरावार निर्माण भएको जानकारी दिनुभयो । सुन्दर फनपार्कका अध्यक्ष देवकोटाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर गौशाला समितिका सचिव बासुदेव ढकालले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?