भू.पू. सैनिक राईजिङ्ग ईङ्गलिस सेकेण्डरी स्कुलले रजत महोत्सव मनाउँदै

पाल्पा, भू.पू. सैनिक राईजिङ्ग ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर–५ पाल्पाले रजत महोत्सव मनाउन लागेको छ । स्थापनाको २५ औं वर्ष पूरा भएको सखद् अवसरमा मंसिर १४ देखि १९ गते सम्म विविध कार्यक्रम सहित रजत महोत्सव मनाउन लागेको हो ।

विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी रजत महोत्सवको बारेमा जानकारी गराएको हो । रजत महोत्सव विशेष कार्यक्रमको बारेमा जानकारी दिदै विद्यालयका प्रिन्सिपल गोपि सिग्देल १४ गते देखि १८ गते सम्म विद्यालयको आन्तरिक कार्यक्रम संगै अन्तर विद्यालय स्तरीय कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । माध्यमिक तहको नगर स्तरीय क्रिकेट प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, रामपुर नगरपालिका स्तरीय शिक्षकहरु विचको मैत्रीपूर्ण भलिबल, अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीहरुको लागि उत्प्रेरणात्मक तथा अभिमुखिकरण कार्यक्रम सहित विद्यालयका कक्षागत तथा अन्तर सदनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको बताउनुभयो ।

अन्तिम दिन १९ गते भारतिय राजदुताबास रक्षा विभागका सहायक सहचारी मेजर नवीन जानुको प्रमुख आतिथ्यतामा रजत महोत्सव समारोह कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । सोही दिन स्मारिका विमोचन, रजत स्तम्भ अनावरण, पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रम रहने छ । विद्यालयका प्रबन्ध निर्देशक एवं संस्थापक अनेरी क्याप्टेन रोमन बहादुर रानाले २०५५ सालमा स्थापना भएको विद्यालयले अनवरत रुपमा किताबी ज्ञान भन्दा अनुशासन र व्यवहारिक ज्ञान जोड दिएर शिक्षा प्रदान हुँदै आएको बताउनुभयो । उहाँले विद्यालयको स्थापनाको समय स्मरण गराउँदै अहिले अर्धसरकारी संस्थागत शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालनमा रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठले ६० जना विद्यार्थी लिएर स्थापना भएको विद्यालय कोठा भाडा तथा खुल्ला चौर हुँदै अहिले भौतिक तथा शैक्षिक प्रगतिमा अघि बढेको बताउनुभयो । विद्यालय बाट उत्तिर्ण भएका विद्यार्थीले नेपाल सरकार संगै विभिन्न संघ संस्थाको उच्च तहमा कार्यरत रहेको जानकारी दिनुभयो । विद्यालयमा हाल मन्टेश्वरी देखिकक्षा १२ सम्म १ हजार ७५ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । विद्यालयको अहिले आफ्नै ५ रोपनी १२ आनामा जग्गामा २ वटा सुविधा सम्पन्न भवन, खेल मैदान रहेको छ । साथै ३ वटा बस समेत सञ्चालनमा ल्याएको छ ।

विद्यालयको सभाहलमा भएको पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षता, भाईस प्रिन्सिपल कमल शर्माको स्वागत र अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक हरि प्रसाद भट्टराईको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा अन्तर मावि स्तरीय क्रिकेट प्रतियोगिता र शिक्षकहरु विचको मैत्रीपूर्ण भलिबलको टाईसेट सार्वजनिक गरिएको थियो । रजत महोत्सवको तयारी र व्यवस्थानका लागि १५ वटा उपसमिति गठन गरी कार्य भैरहेको विद्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?