गएराती भएको दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाईते

पाल्पा, स्याङ्जामा गएराती दुई छुट्टाछुट्टै दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । पुतली बजार नगरपालिका ३ मा अटो दुर्घटना र वालिङ नगरपालिका १० मा मोटरसाईकल संग स्कुटर एक आपसमा ठोक्कीदा तीन जना घाईते भएका हुन् ।

वालिङ १० पाईनिज चोकमा ग ६ प ९९९० नं. को मोटरसाइकल र ग १९ प १३३० नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक वालिङ ९ बस्ने ३४ बर्षीया अमृता खाम्चा र मोटरसाईकल चालक पुतली बजार ७ ठूलाडिहीका २५ बर्षीय सागर तिमिल्सेना घाइते हुनु भएको हो । दुर्घटनामा घाइते खाम्चाको अवस्था मध्यम रहेको र उहाँको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । घाईते तिमिल्सेनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

यस्तै पुतली बजार नगरपालिका ३ मा स्याङ्जाबाट बाड खोला तर्फ जाँदै गरेको लु १ ह ३८१५ नं. को अटो रिक्सा दुर्घटनामा पुतली बजार १ घुम्ती बस्ने ५५ बर्षीया माया पौडेल गम्भीर घाइते हुनु भएको छ । ब्रेक लगाउने क्रममा अटो भित्तामा ठोक्किन गई दुर्घटना भएको थियो । दुर्घटनाका घाइते पौडेलको जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात् पोखरा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुवै दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?