निस्दी गाउँपालिकाको मुख्य स्थानमा स्वाचालित सडक बत्ती जडान

धन बहादुर ठाडा
पाल्पा, निस्दी गाउँपालिकाले पालिकाको मुख्य स्थानमा स्वाचालित सडक बत्ती जडान गरे संगै गाउँ झिलिमिली बनेको छ । केहि वर्ष अगाडिसम्म अध्याँरोमा बस्न बाध्य निस्दीबासी झलमल उज्यालोमा रमाएका छन् ।

निस्दी गाउँपालिकाको मुख्य–मुख्य बजार, सडक, विद्यालय, स्वास्थ्य चौकी सहित सार्वजनिक स्थल तथा गाउँ टोलमा स्वाचालित सडक बत्ति जडान गरे संगै स्थानीयलाई थप राहत मिलेको छ । पालिकाले उज्यालो निस्दी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजन गरेको १० लाख र वडा नं. ६ को २ लाख गरी १२ लाखको लागतमा १ सय ७ वटा बत्ती जडान गरेको हो । जस अन्तर्गत वडा नम्बर १ बाकामलाङमा १३ वटा, सहलकोटमा १३ वटा, झिरुबासमा १३ वटा, वडा नम्बर ४ मित्यालमा १४ वटा बत्ती जडान गरिएको छ । वडा नम्बर ५ गल्धामा १० वटा, अर्चलेमा सबैभन्दा धेरै ३१ वटा र वडा नम्बर ७ ज्यामिरेमा १३ वटा बत्ती राखिएको निस्दी गाउँपालिकाका सूचना अधिकारी तथा योजना अधिकृत अर्जुन खनालले बताउनुभयो ।

साथै आगामी वर्षहरुमा निस्दीका अन्यत्र स्थानमा पनि राखिने खनालको भनाई छ । स्वाचालित सडक बत्ती जडान भएसँगै काम विशेषले रातीको समयमा पनि आवातजावत गर्न सहज भएको मित्यालका चेत बहादुर गाहाले बताउनुभयो । पालिकाले विद्यालयमा समेत विद्युतीकरण गरेपछि विद्यार्थीको पठनपाठनमा अत्यन्तै सहजता आएको सरस्वती माध्यमिक विद्यालय गल्धाका प्रधानाध्यापक सुशील ढकालले बताउनुभयो । यसैबीच निस्दीमा सामुदायिक विद्युतीकरण मार्फत विद्युत विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको वडा नं. ३ को सार्की डाँडा बाहेकको स्थान, वडा नं. ४, ५, ६ सबै टोल र ७ को केही भागमा लालीगुराँस सामुदायिक विद्युतिकरण मार्फत विद्युत सेवा प्रवाह हुँदै आएको छ । वडा नं. २ को सबै टोल र निस्दी ७ को बाँकी भागमा नेपाल विद्युत प्राधिकरले लाईन विस्तार गरी सेवा दिएको छ । वडा नं. १ पनि प्राधिकरण मार्फत लाईन विस्तारको काम भैरहेको छ । वडा नं. ३ झिरुबासको सार्कीडाँडा टोलमा बाहेक अन्यत्र सबै ठाउँमा बिजुली पुगेको लालीगुराँस सामुदायिक विद्युतीकरण समितिका अध्यक्ष दुर्गा बहादुर सोमैले बताउनुभयो । सामुदायिक विद्युतीकरणले नसमेटिएको क्षेत्रमा पनि राष्ट्रिय प्रशारण लाइनको काम तिब्र गतिमा भइरहेको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?