८ दिन देखि बेपत्ता रहेका पन्थी कालिगण्डकी नदी किनारमा मृत फेला

पाल्पा, ८ दिन देखि बेपत्ता रहेका सन्तोष पन्थी कालिगण्डकी नदी किनारमा मृत फेला परेका छन् । पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवा घर भई रामपुर नगरपालिका वडा नं. ७ किसानबारी बस्दै आएका २२ बर्षिय पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ को गडौलीटार स्थित कालिगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

बेपत्ता पन्थीको आफन्तजनले खोजी गर्ने क्रममा आज दिउँसो साढे १ बजे नदी किनारमा तैरि राखेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पन्थीको शव मुचुल्का गरी रामपुर अस्पताल पोष्टमार्टमका लागि पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

पन्थी गत मंसिर ८ गते विहान ५ बजेको समयमा घरपरिवारलाई जानकारी नगरी किसानबारी बाट हिडेपछि सम्पर्क विहिन भएका थिए । त्यस पश्चात परिवार र आफन्तले खोजी गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?