पाल्पा, निस्दी गाउँपालिकामा बाल भित्ते पत्रिका प्रकाशन सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । बालमैत्री पालिका घोषणाको अभियानमा रहेको पालिकाले बालप्रतिभाको प्रस्फुटनमा सहयोग गर्ने उद्देश्यले तालिम सुरु गरेको हो ।
निस्दी गाउँपालिकाको बहुउद्देश्य सभाहलमा भएको तालिमको शुक्रबार एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ । निस्दी गाउँपालिका स्तरीय बालमञ्चका सहसचिव रोशन गैरेको अध्यक्षतामा भएको कार्यक्रम निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी दयालले कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई थप रचनात्मक र सृजनशिल बनाउने तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
निस्दी गाउँपालिकाका शिक्षा शाखा संयोजक नर बहादुर थापा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन बालकल्याण अधिकारी कुश्माकर पाण्डेले गर्नु भएको थियो । पालिका भित्रका १२ माध्यमिक विद्यालयका विद्यार्थी र बालमञ्च सहयोगी शिक्षक गरी तालिममा ३६ जनाको सहभागीता रहेको छ । तालिमको सहजिकरण कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, पत्रकार पुनाराम सुनारी र इमान सिं रानाले गरिरहनु भएको छ ।