पाल्पा, जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्प प्रभावितका लागि नेपाल मगर महिला संघ र नेपाल मगर संघ केन्द्रिय कार्यसमितिले संयुक्त रुपमा राहत सामाग्री वितरण गरेको छ । भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेर संघले सामाग्री प्रदान गरेको हो ।
टेवा नेपाल, नेपाल मगर संघ हङकङ, चिरायु हस्पिटल सहित विभिन्न संस्था तथा व्यक्तिहरुको सहयोगमा जाजरकोटको भेरी नगरपालिका १ मैदी र रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाके ज्यामिरेकोटका ३ सय घर परिवारलाई सामाग्री प्रदान गरेको नेपाल मगर महिला संघले जनाएको छ । भेरी नगरपालिका १ मैदीका वडा अध्यक्ष दिपक रानाको समन्वममा १ सय ५० परिवार र आठविसकोट नगरपालिका १४ बाके ज्यामिरेकोटका वडा अध्यक्ष हुकुम बहादुर पुनको समन्वयमा १ सय ५० पिडित परिवारलाई राहत सामाग्री प्रदान गरिएको नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष हिरु राना मगरले बताउनुभयो ।
भुकम्प बाट पडित एकल महिला, सुत्केरी, गर्भवती र किशोरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जाडोको लागि ब्लाङ्केट, पि फर्म सहित लत्ताकपडा, खाद्यान्न संगै सेनेटरी प्याड र औषधी प्रदान गरिएको जानकारी दिनुभयो । राहत वितरणका लागि नेपाल मगर महिला संघ केन्द्रिय कार्य समितिका वरिष्ठ उपाध्यक्ष धन कुमारी राना, महासचिव मिना कुमारी घर्ती, उपमहासचिव चित्रा श्रीस, जनसम्पर्क सचिव कृष्णा वंशी, कोषाध्यक्ष सुधा राना, सहकोषाध्यक्ष लाल माया थापा, कर्णाली प्रदेश अध्यक्ष निर्मला गाहा लगाएत संघका पदाधिकारी नेपाल मगर संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा मानविय क्षति संगै ठूलो जनधनको क्षति गरेको थियो । संघले विपद्को समयमा यस अघि पनि मुलुकको विभिन्न स्थानमा पुगेर राहत तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।