लैङ्गिक हिंसा निवारण सम्बन्धी सरोकारवाला विचको छलफल रामपुरमा सम्पन्न

पाल्पा, लैङ्गिक हिंसा निवारणमा नगरपालिकाको भूमिका विषयक सरोकारवाला विचको छलफल कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हिंसा न्यूनिकरणका लागि आगामी कार्यक्रम सञ्चालनको लागि सुझाव संकलन गर्न रामपुर नगरपालिकाले सरोकारवालाहरु संग छलफल गरेको हो ।

कार्यक्रममा रामपुर नगरपालिकाका सरोकारवालाहरुले लैङ्गिक हिंसा निवारणका लागि महिलालाई आर्थिक रुपमा सक्षम बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागीहरुले सचेतना संगै आर्थिक सशक्तिकरणको आवश्यता औल्याएका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिकामा भएको छलफल कार्यक्रममा नगरका सल्लाहाकार देवराज ढकालले सचेतनाको कार्यक्रम सिमित व्यक्तिहरुमा मात्र नभै व्यापक रुपमा अघि बढाउनु पर्नेमा बताउनुभयो । नगर सल्लाहाकार एवं महिला नेतृ विष्णु माया ढकालले संविधानले महिलाहरुलाई अधिकार दिए पनि उपयोग गर्न नसकिएको भन्दै उनीहरुलाई सामाजिक र आर्थिक रुपमा सक्षम बनाउने कार्यक्रमको खाँचो रहेको औल्याउनुभयो ।

महिला नेतृ पवित्रा पौडेल ढकालले हिंसा म पनि गर्दिन र सहेर पनि बस्दिन भन्ने प्रण गरेर अघि बढ्नु पर्ने बताउनुभयो । महिला नेतृ इश्वरी देवी खनालले आर्थिक रुपमा सशक्तिकरण गर्न सके लैङ्गिक हिंसा कम हुँदै जाने बताउनुभयो । नगर सल्लाहाकार नेत्र प्रसाद भट्टराईले आर्थिक रुपमा सवल बनाउनका लागि सञ्चालन गरिने तालिम लगाएतका कार्यक्रमलाई उपलब्धी मुलक बनाउनु पर्नेमा जोड दिनुभयो । नगर सल्लाहाकार हुमनाथ न्यौपानेले हिंसा पिडित महिलाहरुको आवाज बुलन्द गर्ने गरी कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो । नगर सल्लाहाकार रामप्रसाद गैरेले सचेतनाको कार्यक्रम गाउँटोल सम्म पुग्नु आवश्यक रहेको बताउनुभयो । सहभागी महिलाहरुले आफ्नो भोगाई कार्यक्रममा व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीको जिज्ञासा मेटाउँदै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले न्यायिक समितिमा गत वर्ष १३ वटा हिंसा सम्बन्धी उजुरी आएको र दुवै पक्षलाई छलफल गराई मुद्दा फस्यौट गरेको जानकारी दिनुभयो । उहाँले लैङ्गिक हिंसा मध्ये पुरुष हिंसाको मुद्धा पनि आएको बताउनुभयो । थापाले नगरपालिकाले महिलाहरुको सशक्तिकरणको लागि सीपमुलक तालिम संगै सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको बताउनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भएको कार्यक्रममा सहायक महिला विकास निरीक्षक पुजा परियारले नगरको अवस्था र गतिविधि बारे जानकारी गराउनु भएको थियो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा उद्देश्य माथि रामपुर नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले प्रकाश पर्नु भएको थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?