गल्याङमा आज देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गल्याङ, स्याङ्जाको गल्याङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उट्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले भोलिको गल्याङ र मुलुक निर्माण गर्ने अभियानमा सकरात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले नगरबासीलाई पनि गल्याङको समृद्धिका लागि जिम्मेबार भएर अगाडि बढ्न आग्रह गर्नु भयो । गल्याङ नगरपालिकाको आयोजनामा हुन गैरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० समारोहमा भट्टराईले सञ्चारको सहि सदुपयोग गरेर आफ्नो सामथ्र्य र दक्षतालाई सहि रुपमा सदुपयोग गरेर अगाडि बढ्न आग्रह गर्नु भएको थियो । शिक्षाको आमूल परिर्वतनका क्षेत्रमा गल्याङ नगरपालिका सहि गतिमा अगाडि बढेको र आफूले गरेका कर्मले भोलि आफूलाई नै परिर्वतन गर्ने भावनाका साथ गल्याङको विकासमा लाग्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गरेर गल्याङ नगरले स्थानीय तह देखि प्रदेश तथा संघ स्तरमै खेलाडी उत्पादन गर्ने ठूलो लगानी गरेर अगाडि बढेको कुरा बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्याम प्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्र देब खनाल, गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । आज देखि २४ गते सम्म हुने प्रतियोगिता तल्लो गल्याङमा रहेको खेल मैदानमा जारी रहेको छ ।

नगरपालिकाले सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई सहभागिताको लागि अनुरोध गरेको थियो । प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको र केही खेलहरु आज सम्पन्न भएका छन । प्रतियोगिता अन्तर्गत छात्र र छात्रा भलिबल, १००, २००, ४००, ८००, १५०० मिटर तथा रिले दौड प्रतियोगिता, उफ्रने फ्याक्ने, मार्सल आर्टस् तथा मार्च पास सहितका खेलहरु सञ्चालन भएका छन् । गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम नगर शिक्षा सदस्य चन्द्र बहादुर राना मगरको स्वागत र शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?