“रामपुरलाई नमुना र व्यवस्थित शहरको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ” –मुख्यमन्त्रि चौधरी

पाल्पा , लुम्बिनी प्रदेशका मुख्य मन्त्रि डिल्ली बहादुर चौधरीले रामपुर नगरपालिकालाई नमुना र व्यवस्थित शहरको रुपमा विकास गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । यसका लागि ग्रामिण विकास तथा साना शहरी पूर्वाधार निर्माण योजना जुनसुकै हालतमा कार्यान्वयन हुने बताउनु भएको छ ।

उहाँले २६ करोड ७१ लख रुपैयाँ बजेट विनियोजन भई सकेको र केही कानुनी जटिलताका कारण काम हुन ढिलाई भए पनि समस्या समाधन गरि तत्काल बजेट मार्फत योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । योजना अन्तर्गत बसपार्कको टर्मिनल भवन निर्माण , ज्याग्दी वृहत पार्क र रामघाटमा विद्युतीय शवदाह गृह निर्माण को काम कानुनी जटिलताका कारण अहिले सञ्चालन नगरे पनि सडक निर्माण तथा स्तरोन्नती र अन्य योजना तत्काल सञ्चालन गरिने बताउनु भएको छ । “जग्गा प्राप्ती तथा भोगाधिकारको समस्याका कारण अहिले बसपार्कको टर्मिनल भवन निर्माण , ज्याग्दी वृहत पार्क र रामघाटमा विद्युतीय शवदाह गृह निर्माण गर्ने योजना सञ्चालन गर्न नसके पनि अन्य योजना सञ्चालन गरेर बजेट कार्यान्वयन गर्न आवश्यक छ , जग्गा भोगाधिकार वा लिज प्रक्रिया सकिए पछि ति योजना पनि सम्पन्न हुन्छ” –उहाँले भन्नुभयो ।

शनिबार रामपुर नगरपालिकाले आयोजना गरेको स्वागत , सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्रि चौधरीले कृषि क्षेत्रको विकासका लागि रामपुर फाँट सिंचाई योजनालाई प्रदेश सरकारले समपूरक अनुदानका लागि केन्द्रिय योजनामा राख्ने बताउनु भएको छ । साथै यसका लागि सबै योजनाको डिपिआर बनाउन आग्रह गर्नु भएको छ । नगरको विकास र आर्थिक समृद्धिका लागि उत्पादनमा जोड्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले गाँउलाई उत्पादन क्षेत्र र शहरलाई बजार क्षेत्रको रुपमा विकास गर्न सके मात्र आर्थिक समृद्धि हुने र विकासले सार्थकता पाउने बताउनुभयो । मुख्यमन्त्रि चौधरीले स्थानीय उत्पादनलाई ब्राण्डिङ्ग गरि बजारिकरण गर्नु पर्ने उल्लेख गर्नुभयो । साथै हरेक क्षेत्रको उत्पादनलाई ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो–“जब सम्म गाँउलाई कृषि उत्पादन क्षेत्र बनाउन सकिदैन र उत्पादित बस्तु रामपुरको बजार सम्म र रामपुरमा उत्पादन भएका बस्तु अन्य स्थानमा निर्यात गर्न सकिदैँन तब सम्म सडक निर्माणको अर्थ हुँदैन । ” सडक निर्माणले मात्र विकास सम्भव नहुने भन्दै मुख्यमन्त्रि चौधरीले सडकबाट कुन कुन उत्पादन बाहिर निर्यात हुन्छ भन्ने विषयले कुनै पनि स्थानको विकास र आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो ।

यस्तै क्षेत्र नं.१ प्रदेश क का सांसद राजु प्रसाद श्रेष्ठले रामपुरको विकासका लागि स्थानीय , प्रदेश र संघीय सरकार विच समन्वय गरेर अगाडी बढेको बताउनुभयो । साथै उहाँले प्रचुर सम्भावना बोकेको रामपुर नगरको विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ हेरेको बताउनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुरलाई पर्यटकीय शहरको रुपमा विकास गर्न आवश्यक सहयाग गर्न मुख्य मन्त्रिलाई आग्रह गर्नु भएको छ । उहाँले मुख्य मन्त्रि चौधरीलाई नगरको विकासका लागि विभिन्न योजना सहितको माग पत्र समेत हस्तान्तरण गर्नु भएको छ । नगर प्रमुख थापाले तत्काल ग्रामिण विकास तथा साना शहरी पूर्वाधार निर्माण योजना कार्यान्वयन गर्न , रामपुर अस्पताललाई विषशेज्ञको दरबन्दी सहित ट्रमा सेन्टरको रुपमा विकास गर्न , रामपुर फाँट सिंचाई योजना , ईलाका प्रहरी कार्यालयमा डिएसपिको दरबन्दी सहित स्तरोन्नती गर्र्न ,कृषि उपज संकलन केन्द्र स्थापना , सुपथ मूल्य पसल सञ्चालन गर्न लगाएतका योजना सहितको माग पत्र हस्तान्तरण गर्नु भएको छ ।

नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले रामपुर क्षेत्रको विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिन आग्रह गरेका थिए । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रम नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणकाे स्वागत र याेजना शाखा प्रमुख विक्रम बस्नेतकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?