स्नातकोत्तर तह उत्तिर्ण अविवाहित महिलालाई रामपुर नगरपालिका द्वारा सम्मान

पाल्पा, रामपुर नगरपालिकाले स्नातकोत्तर तह उत्तिर्ण अविवाहित महिलाहरुलाई सम्मान गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा आईतबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।

उप–प्रमुख किशोरी शिक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा नगर भित्रका ७ जना महिलाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले दोसला ओढाई सम्मान पत्र र पाल्पाली करुवा सहित सम्मान गर्नु भएको हो । महिलाहरुलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उच्च शिक्षा हासिलका लागि मेहेनत गर्ने महिलाहरुलाई कार्यक्रमले थप उत्साह प्रदान गर्ने बताउनुभयो । साथै थापाले शिक्षाको माध्यम बाट मात्र समाज रुपान्तरणमा सम्भव रहेको बताउनुभयो ।

उपप्रमुख बालकुमारी थापाले महिलाहरुलाई उच्च शिक्षा अध्ययनमा थप प्रेरित गर्नका लागि स्नातकोत्तर उत्तिर्ण सम्मान गरिएको बताउनुभयो । किशोरी तथा महिलाहरुलाई शिक्षा ग्रहणका लागि उर्जा प्रदान गर्न आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले बालबालिकालाई उचित शिक्षा र संकार प्रदान गर्न सके मात्र विकासले गति लिन सक्ने बताउनुभयो । सम्मनित महिलाहरुको तर्फमा ईश्वरी सेनले नगरपालिकाको सम्मानले थप हौसला मिलेको बताउँदै नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा कालिका माध्यमिक विद्यालयका विद्यार्थी, महिला तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक शालिकराम खनालले मानव बेचविखन न्यूनिकरणका उपाय, कानुनले गरेको व्यवस्थाका विषयमा प्रशिक्षण दिनु भएको थियो । रामपुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?