राजश्व संकलन तथा वाँडफाँड सम्बन्धि छलफल कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न

पाल्पा , लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका अर्थ सचिव केदारनाथ शर्माले प्रदेश सरकार मार्फत सञ्चालन हुने योजना उत्कृष्ट र नमुनाको रुपमा सम्पन्न गर्न आग्रह गर्नु भएको छ । उहाँले प्रदेश सरकारको बजेट मार्फत निर्माण हुने योजनालाई उच्च प्राथमिकताका साथ समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्न स्थानीय तहहरुलाई निर्देशन दिनु भएको छ ।

स्थानीय तहले सञ्चालन गर्ने योजनालाई भन्दा पहिले प्रदेश र संघीय सरकारको योजना छिटो कार्यान्वयन गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो । स्थानीय तहहरुको योजनाको अनुगमन ,राजश्व र अनुदानको अनुगमनका क्रममा शुक्रबर रामपुर नगरपालिकामा छलफल गर्दै उहाँले यस्तो बताउनु भएको हो । साथै स्थानीय तहको राजश्व वृद्धिका लागि स्रोतको पहिचान गर्न आवश्यक रहेको बताउनु भएको छ । यसका लागि राजश्व सुधार योजना सहित जनप्रतिनिधि र कर्मचारी जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । हरेक स्थानीय तहको आन्तरिक स्रोत वृद्धि भए प्रदेश सरकारमा पनि योजना मागको भार कम हुने भन्दै मितव्ययिता अपनाएर हरेक योजना समयमै सम्पन्न गर्नु पर्नेमा जोड समेत दिनुभयो ।

राजश्व संकलन तथा वाँडफाँड सम्बन्धि छलफलमा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले राजश्व वृद्धिका लागि करको दायरा बढाए पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । साथै राजश्व वृद्धिका लागि प्रदेश सरकारलाई विभिन्न समयमा परामर्श र सहयोग गर्न आग्रह समेत गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले स्थानीय तहले आन्तरिक आय वृद्धिका लागि नीतिगत निर्णय गरे पनि कार्यान्वयन गर्न सहज नभएको बताउनुभयो ।

रामपुर नगरपालिकामा भएको कार्यक्रममा नगर स्थित सञ्चालित योजना , करको दायरा , आन्तरिक आम्दानी , बजेट भुक्तानीको अवस्था लगाएतका विषयमा छलफल भएको थियो । कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम अर्थ सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?