अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती नगर्ने कांग्रेस महामन्त्री थापाको भनाई

पाल्पा, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती नगर्ने बताउनु भएको थियो । नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै थापाले कांग्रेसका व्यक्तिहरुलाई रुख चिन्ह बाहेक अर्को चिन्हमा मत हाल्न लगाउने गल्ती र अपराध काँग्रेसले नगर्ने  बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘काँग्रेस भनेको आस्थाको मन्दिर हो, तर त्यो मन्दिर माथि चोट लागेको छ, त्यसैले नेपाली काँग्रेसले महासमितिको बैंठकबाट हात जोडेर भन्नुपर्छ कि जे भयो भयो अब यो भन्दा अगाडिको यात्रामा कुनै निर्वाचनमा हारिएला भन्ने डरले, जितिएला भन्ने लोभले काँग्रेसका मान्छेलाई रुखभन्दा अर्को चिन्हमा मत  हाल्न लगाउने गल्ती, अपराध अब हामीले गर्ने छैनौं भनेर हाम्रो यात्रा सुरु गर्नुपर्छ ।’   महामन्त्री थापाले २०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि काँग्रेसले गठबन्धन नगर्ने दाबी  गर्नुभयो। ‘ निर्वाचनमा बरु हार्न परोस्, तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन गरिँदैन,’ उहाँले भन्नुभयो ।

महामन्त्री थापाले महाअधिवेशन भएको ६ महिनाभित्रै सबै विभागहरू गठन गरेर पार्टीलाई चुस्तदुस्त बनाउनुपर्नेमा विधानअनुसार काम नगर्दा पाटीको क्रियासिलता कमजोर भएको बताउनुभयो ।
पार्टीलाई गुटबन्दीबाट अन्त्य गर्न वडा देखि केन्द्रीय सभापतिसम्म कांग्रेसका क्रियाशिल सदस्यले प्रत्यक्ष मत जाहेर गर्न पाउनेगरी विधान संसोधनको तयारीमा जुटेको महामन्त्री थापाले बताउनुभयो। क्रियासिल सदस्यबाट नेतृत्व चुन्ने व्यवस्था लागू भएको दिन कांग्रेसमा गुटबन्दीको अन्त्य हुने उहाँको भनाइ थियो ।

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टीसँग सरसल्लाह गर्ने नागरिकका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्नुपर्ने उहाँले बताउनु भयो ।कार्यक्रममा कांग्रेसका सह–महामन्त्री भीष्म राज आङदेम्बेले नेपाली काँग्रेलाई अब अलमलिने छुट नभएको बताउनुभयो । उहाँले विगतमा भन्दा वर्तमानमा समस्याहरु धेरै भएकाले त्यसको समाधानका लागि पनि काँग्रेस अलमलिन नहुने धारण व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य दीपक गिरीले भ्रष्टचारको अन्त्यका लागि अब काँग्रेसले सोच्न जरुरी रहेको बताउनुभयो । केन्द्रीय सदस्य रुपा विकले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन,पूर्व केन्द्रीय सदस्यहरु हरीप्रसाद नेपाल, राजनप्रसाद पन्त, काँग्रेस पाल्पाका निर्वतमान सभापति विरबहादुर राना, काँग्रेस प्युुठानका सभापति विष्णु गिरी लगायतले जन जिविकाका सवाल सम्बोधन गरेर पार्टीलाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले राजनीतिक प्रतिवेदन, सचिव सन्तोष थापा मगरले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष महोन प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

जिल्ला सम्मेलनको अवसरमा पूर्व जिल्ला सभापति, अक्षकोषदाता, निर्वाचित जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, पार्टीको भातृसंगठन, शुभेच्छुक संस्थामा निर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई समेत सम्मान गरिएको थियो । नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति झपेन्द्र गरिहेको स्वागत र सचिव सुनिता अधिकारीको सञ्चालनमा भएको हो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?