रामतुलसी नमुना माविको ५६ औं वार्षिक उत्सव सम्पन्न

पाल्पा, रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले ५६ औं वार्षिक उत्सव मनाएको छ । आईतबार शुभकामना आदनप्रदान गरी विद्यालयले वार्षिक उत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । वार्षिकउत्सवको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले कालीगण्डकी बेशी क्षेत्र बाट उच्च शिक्षाका लागि अन्यत्र जानु नपर्ने वातावरण सृजना गर्नका लागि समय मै साइन्स क्याम्पस स्थापना तथा प्राविधिक धारको कक्षा सञ्चालनमा जोड दिनु पर्ने बताउनुभयो । पछिल्लो समय विद्यालय स्तरको पढाई सकिए संगै विदेश जानेको संख्या बढ्दै गएकाले समय मै यस तर्फ सोच्ने समय आएको बताउनुभयो । “विद्यालय स्तरको कक्षा सकिए पछि विद्यार्थीहरु विहान उठ्ने वित्तिकै क्याम्पसमा होईन कन्सल्टेण्सी धाउने क्रम बढ्दो छ ।” उहाँले भन्नुभयो, “त्यसैले अब शिक्षालाई रोजगार संग जोड्नु आवश्यक छ ।” शिक्षामा जागरण र सचेतनाको आवश्यक देखिएको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले व्यवहारिक र संस्कार सहितको शिक्षाको अभावमा नागरिकमा वितृष्णा छाएको बताउनुभयो । उहाँले घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षाको विशेष महत्व रहेकाले नगरपालिकाले संस्कार र व्यवहारिक ज्ञान प्रदान गर्न बु फ्री फ्राई डे कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । रामतुलसी नमुना माध्यमिक विद्यालयले अन्य विद्यालयहरुलाई पनि मार्गदर्शन प्रदान गरेको बताउनुभयो ।

रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले रामतुलसी नमुना मावि नगरको लिडर विद्यालय भएको बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक शिक्षक देवराज ढकालले विद्यालयलाई याहाँ सम्म ल्याउनु हुने व्यक्तित्वहरुलाई स्मरण गर्दै समय सापेक्ष शिक्षा प्रदान गर्दै अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा समाजसेवी फणेश्वर गौतम, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृतिनाथ श्रेष्ठ, समाजसेवि दुर्गादेवी राना, नेपाल सरकारका पूर्व सहसचिव मधुसूदन पोखरेल र पत्रकार सीता डोटेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल सरकारका पूर्व सहसचिव मधुसुदन पोखरेलले हजुरबुवा र बुवाको स्मृतिमा अक्षयकोष स्थापना गर्नु भएको छ । स्व. हजुरबुवा ज्ञानेश्वर पोखरेल र स्व. बुवा लोकनाथ पोखरेलको स्मृतिमा दुई लाख एक हजार एक सय ५५ रुपैयाँ राशीको ज्ञानेश्वर लोकनाथ स्मृति असहाय विद्यार्थी कोष स्थापना गर्नु भएको हो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साललाई चेक हस्तान्तरण गर्दै उहाँले आफुले कक्षा ६ देखि १० सम्म अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनमा नगन्य भए पनि योगदान पुगोस् भन्ने हेतुले अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

वार्षिक उत्सवको अवसरमा रामनाथ पौडेल स्मृति अक्षयकोष मार्फत विद्यालयले विद्यालयका संस्थापक एवं समाजसेवी देवराज ढकाललाई सम्मान समेत गरेको छ । विद्यालयले दोसला र ढाका टोपी ओढाई पाल्पाली करुवा सहित सम्मान गरेको हो । साथै भूपू विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कंडेललाई अक्षयकोष स्थापना गर्नु भएकोमा सम्मान गरेको थियो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयमा हाल २ हजार ६ सय बढी विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । उहाँले हाल १८ ब्लकको १ सय ८ वटा कोठामा कक्षा सञ्चालन भएपनि भवन पर्याप्त नभएको बताउनुभयो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सिक्नको लागि रामतुलसी, संस्कारको लागि शिक्षा भन्ने नाराका साथ विद्यालय तीन तहमा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

विद्यालयका लेखाप्रमुख हरिहर रेग्मी गत वर्षको १० करोड ५० लाख भन्दा बढीको आयव्याय प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु प्रसाद पौडेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?