स्याङ्जामा छुट्टा छुट्टै दुर्घटनामा परी तीन जना घाईते

पाल्पा, स्याङ्जामा गयराती भएको छुट्टा छुट्टै दुर्घटनामा ३ जना घाईते भएका छन् । चापाकोट नगरपालिका ५ मा भएको ट्याङ्कर दुर्घटनामा चालक तथा सहचालक गरी दुईजना र कालीगण्डकी गाउँपालिकामा भएको दुर्घटनामा १ जना घाईते भएको हो ।

आइतबार साँझ साढे ८ बजे चापाकोट –५ हिलामराङ स्थित ज्याग्दी खोलाबाट पानी लिई मकैडाडा तर्फ जादै गरेको हिमाल कन्ट्रक्सनको नम्बर नखुलेको ट्याङकर उकालो सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा सोही ट्याङ्करको सह–चालक चापाकोट नगरपालिका–५ मकैडाँडा स्याङ्जा बस्ने वर्ष ३२ को जिगर परियार र चालक बुटवल उपमहानगर १८ नयाँ गाउँ रुपन्देहीका ३१ वर्षिय हिरा परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
सहचालक जिगरलाई चापाकोट नगर अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ । यता चालक हिरालाई रामपुर अस्पताल पाल्पा उपचार पश्चात थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै स्याङजाको कालीगण्डकी ७ मिर्मी स्थित भित्री सडक खण्डमा मिर्मिबाट जयपते तर्फ आउँदै गरको लु. २१ प. ५३८६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा वस्ने वर्ष २४ को सलमान खान गम्भीर घाईते भएका छन् । घाईते चालकलाई कालीगण्डकी अस्पताल पठाईएकोमा थप उपचारको लागी मिशन अस्पताल पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ । दुवै घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?