मानसिक स्वास्थ्य र मनोसामाजिक सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम रामपुरमा सम्पन्न

पाल्पा , मानसिक स्वास्थ्य र मनोसामाजिक सेवा सम्बन्धि अन्तरक्रिया सहितको बैठक बुधबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ । रामपुर नगरपालिकामा ३ मानसिक स्वास्थ्य र मनोसामाजिक सेवाको लागि प्रादेशिक स्वास्थ्य सेवा प्रणाली सुदृढिकरण परियोजना कार्यक्रमको अभिमूखिकरण सहितको बैठक सम्पन्न भएको हो ।

बैठकमा मानसिक स्वास्थ्य तथा परामर्श , नगरपालिका भित्र मानसिक रोगीको अवस्था , उपचारको व्यवस्था , सञ्चालित कार्यक्रमको बारेमा छलफल भएको थियो । छलफलमा सहभागिहरुले मानसिक समस्या बढ्दो क्रममा रहेकोले यसको उपचारका लागि परामर्श र औषधि उपचारको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले नगरपालिकामा गत ३ महिना देखि मानसिक स्वास्थ्य सम्बन्धि परियोजना सञ्चालन गर्दै आएको छ । परियोजना अन्तर्गत प्रत्यक महिनाको ४ गते मानसिक रोग सम्बन्धि शिविर सञ्चालन गरेको थियो । सो क्रममा मासिक २५ देखि ३० जनामा मानसिक समस्या भएको भेटिएको सिएमसि नेपालका सहजकर्ता एलिसा रिजालले जानकारी दिनुभयो । उहाँले परियोजनाको अवधि सकिए पनि यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले मानसिक रोगको उपचार तथा परामर्शका लागि रामपुर अस्पताल संग समन्वय गरेर परामर्श दाता र उपचार सेवाको व्यवस्था गर्ने बताउनु भएको छ । नगरपालिकामा मासिक रोगीको संख्या बढ्दो रुपमा पाईएकाले यसको उपचार र परामर्शका लागि परियोजनाले सञ्चालन गरेको कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले मानसिक रोगको पहिचान गर्न नसक्दा र उपचार गर्ने ठाँउ चिन्न नसक्दा यसले दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो । यस्तै नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले मानसिक रोगको उपचार र यसबाट हुन सक्ने सम्भावित दुर्घटना रोक्नका लागि परिवार समाज सबै सजग हुन आवश्यक रहेको औँलयाउनुभयो । यस्तै रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले परियोजना अन्तर्गत रामपुर अस्पतालबाट ३ महिना सम्म मानसिक रोगको जाँच , उपचार तथा परामर्श सेवा सञ्चालन  गरे पनि अब सोही अस्पतालबाट उपचार सेन्टर स्थापना गरि सेवा दिनु पर्नेमा जोड दिनुभयो ।

रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको थियो । नगरपालिकाको कार्यालय भवनमा भएको कार्यक्रममा जनप्रतिनिधि ,स्वास्थ्यकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?