बेझाँड बजारमा निस्दी कोसेली घर सञ्चालनमा

पाल्पा, रामपुर नगरपालिका–५ बेझाँड बजारमा निस्दी कोसेली घर सञ्चालनमा आएको छ । निस्दी गाउँपालिकाले सहकारी संस्थाहरु संग सहकार्य गरी स्थानीय कृषि उपजको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा ल्याएको हो ।

बेझाँड बजार तल्लो चोकमा स्थापना गरिएको कोसेली घरको बुधबार एक कार्यक्रमका विच शुभारम्भ गरिएको हो । निस्दी कोसेली घर सञ्चालक समितिका संयोजक अममाया मश्राङ्गीको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कोसेली घरको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा कोसेलीघर सञ्चालनमा आउनु खुशीको कुरा भएको बताउनुभयो । उत्पादन भएका कृषि उपज विक्रीको सुनिश्चितता गर्न सके उत्पादनमा वृद्धि हुने बताउनुभयो । साथै अर्गानिक वस्तुको प्रवद्र्धन र बजारीकरणमा कोसेली घरले थप राहत दिने बताउनुभयो ।

निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उपभोक्ता अर्गानिक वस्तु तर्फ आकर्षित भैरहेको सन्दर्भमा पालिका भित्र उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहजता प्रदान गर्न कोसेली घर सञ्चालनमा ल्याएको बताउनुभयो । उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले गाउँपालिकाको लागि नजिकको बजार रामपुर भएकाले कोसेली घर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले निस्दीको उत्पादन प्रवद्र्धनका लागि बुटवलमा पनि कोसेली घर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

कोसेली घर बाट निस्दीको ७ वटै वडामा उत्पादन हुने मौसमी तथा बेमौसमी अर्गानिक तरकारी, गेडागुडी, फलफूल, मह तथा घ्यू लगाएतका सामाग्री विक्री वितरण हुने सञ्चालक समितिका संयोजक अममाया मश्राङ्गीले बताउनुभयो । गाउँपालिकाका उपप्रमुख तीरन कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमुख बिमला आचार्यले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?