निस्दी–३ मा आगोलागी हुँदा शिशुको मृत्यु, एक घर र गोठ जलेर नष्ट

तस्विर सौजन्य : पुनाराम सुनारी

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–३ क्याङ्गरुङ्गमा (शनिबार) आगोलागीमा परी एक शिशुको मृत्यु भएको छ । क्याङ्गरुङ्ग पोखरीथर स्थित श्याम बहादुर पल्लीको घरमा आगोलागी हुँदा पल्लीको ९ महिनाको नातिनी दिप्सना पल्लीको मृत्यु भएको हो ।

छोरीलाई झोलुङ्गोमा सुताएर दुई छोराहरु घरमा छोडेर आमा हेमसरी पल्ली सहित परिवारका अन्य सदस्य काममा गएको बेला दिउँसो सवा १२ बजे एक्कासी आगोलागी भएको थियो । घर भित्र रहेका शिशुको आगोलागीमा परी निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । आगोलागी बाट पल्लीको खरले छाएको घर र गोठ पूर्ण रुपमा क्षति भएको छ ।

आगोमा परी गोठमा रहेको एक वटा भैंसी र पाडा समेत जलेर घाईते भएको छ । साथै एक वटा बाख्रा मरेको छ । घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा सहित धनमाल जलेर नष्ट भएको छ । अहिले स्थानीय र प्रहरीले आगो नियन्त्रण लिएको प्रहरीले जनाएको छ । आगोलागी के कति कारणले भयो भन्ने विषयमा खुल्न सकेको छैन । क्षति कतिभयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?