रामपुरमा भोलि देखि प्रथम किङ्गस कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै

पाल्पा, रामपुर नगरपालिका ५ बेझाँडमा भोलि मंगलबार देखि प्रथम किङ्गस कप सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता हुँदैछ । स्थानीय खेल प्रतिभाको पहिचान संगै प्रवद्र्धन गर्ने उद्देश्यका साथ किङ्गस क्लव रामपुर–५ पाल्पाको आयोजनामा हुने प्रतियोगिता पुस १४ गते सम्म हुन लागेको हो ।

रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदान बेझाँडमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष योगेन्द्र हमालले स्थानीय खेल प्रतिभाको पहिचान गरी प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको तयारी सकिएको बताउँदै स्थानीय खेल प्रतिभालाई अवसर प्रदान गर्न रामपुर नगरपालिका र चापाकोट नगरपालिका खेल समुहलाई मात्र समावेश गरिएको बताउनुभयो । ‘हामीले स्थानीय खेलाडीलाई प्राथमिकता दिएर रामपुर चापाकोटका समुहलाई मात्र समावेश गर्दैछौं । खेलको माध्यम मार्फत युवाहरुलाई एकतावद्ध गरी सामाजिक सेवामा लाग्न तथा प्रतिभालाई अवसर दिएर अघि बढाउनु हाम्रो ध्येय हो ।’ उहाँले भन्नुभयो ।

सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता संगै कार्यक्रममा भेट्रान्स फुटबल प्रतियोगिता पनि हुनेछ । किङ्गस कप अन्तर्गत १२ समुह र भेट्रान तर्फ ८ समुहको सहभागीता रहने खेल संयोजक सुमन सेनले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भेट्रान्स तर्फ कप मेडल र प्रमाण पत्र सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै प्रतियोगितामा विद्यागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ ।

प्रतियोगिताको अन्तिम दिन रामपुर नगरपालिका र चापाकोट नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु विच मैत्रीपूर्ण खेल हुने क्लवका सचिव जोगन भुजेलले जानकारी दिनुभयो । प्रतियोगिताको उट्घाटन मंगलबार दिउँसो १ बजे हुनेछ । साथै फाईनल खेलको दिन विविध सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरुको कटुवाल खबर डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?