पाल्पा, प्रथम रामपुर भेट्रान्स कप भलिबल प्रतियोगिताको उपाधी पोखरा महानगरपालिका कास्कीले जितेको छ । गत पुस ८ गते रामपुर भेट्रान्स क्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा बौदीकाली गाउँपालिका नवलपुरलाई ३/२ सेटले पराजित गर्दै पोखराले प्रतियोगिताको उपाधी जितेको हो ।
फाईनल खेलको सुरुवातमा पहिलो सेट र दोस्रो सेट २५/१६ र २५/१७ अंक सहित बौदीकाली गाउँपालिकाले हात पारेको थियो । अन्तत पोखराले तेस्रो, चौचो र पाँचौं सेट २५/१९, २५/२३ र १५/११ अंकले सहित बौदीकालीलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । बौदीकाली गाउँपालिकाले फाईनलमा पराजित भए संगै द्वितिय स्थानमा चित्त बुझाएको छ ।
रामपुर भेट्रान्स क्लवको आयोजनामा भएको प्रतियोगितामा बागलुङको गल्कोट नगरपालिका तृतिय भएको छ । तृतिय स्थान छनौट खेलमा तनहुँको घिरिङ गाउँपालिकालाई २/० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधी जितेको हो । गत आइतबार बाट सुरु भएको प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहँ, नवलपरासी, बागलुङ र कास्की जिल्लाका १४ समुहले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी पोखरा महानगरका विक्रम भुजेल भएका छन् ।
विजयी समुहलाई एक कार्यक्रमका विच रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पुरस्कार प्रदान गर्नु भएको थियो । पुरस्कार प्रदान गर्दै थापाले खेल क्षेत्र र खेलाडीलाई सरकारले उच्च प्राथमिकता दिनु पर्ने आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाले सिमित स्रोत र साधनका विच पनि आफ्नो तर्फ बाट पहल गर्दै आएको बताउनुभयो । खेलले आपसी सद्भाव कायम राख्नका लागि सहयोग गरेको बताउनुभयो । साथै स्वास्थ्यलाई मात्र नभै राष्ट्रलाई समेत चिनाउन महत्वपूर्ण कार्य गर्ने बताउनुभयो ।
रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता कपिल बहादुर खाँणले विभिन्न समयमा हुने प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । क्लवका अध्यक्ष कमल खाँणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुमार खाँणले गर्नु भएको थियो ।